‘सेनालाई कमजोर बनाउने खेलमा सरकार ’


विराटनगर, (नेस)
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार नेपाली सेनालाई कमजोर बनाउने खेलमा लागेको आरोप लगाएका छन् । सरकारले लोकतन्त्रका आधारभूत संरचनालाई कमजोर बनाउँदै सर्वसत्तावाद लाद्न खोजिरहेको कोइरालाको भनाइ थियो ।

डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) प्रदेश–१ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले न्यायपालिका, आर्थिक संरचना, सेना र सञ्चारजगतलाई कमजोर बनाउने खेलमा सरकार लागिपरेको दाबी गरे । सम्पत्ति शुद्धीकरणलगायतका महत्वपूर्ण निकाय प्रधानमन्त्रीले आफू मातहतमा ल्याएर मुलुकमा भ्रष्टाचारलाई प्रश्रय दिने काम गरेको उनले बताए ।

“न्यायपालिका निरीह बनेको छ, मिडियामाथि पनि हस्तक्षेप भइसकेको छ । सम्पत्ति शुद्धीकरण आफू मातहत ल्याउने काम भएको छ,” कोइरालाले भने, “अब नेपाली सेनालाई पनि कमजोर बनाउने खेलमा सरकार लागि परेको छ ।” उनले लोकतन्त्रका आधारभूत संरचनालाई कमजोर बनाएर सरकार मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद जबरजस्ती लाग्न खोजिरहेको बताए ।

उनले संवैधानिक सर्वोचता र शक्ति सन्तुलन खलबलिएको बताए । नेता कोइरालाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई एउटै ठाउँमा केन्द्रित गर्नेतर्फ सरकार अग्रसर भइरहेको उल्लेख गरे । “सबै शक्ति आफूमा केन्द्रित गर्न प्रधानमन्त्री केपी ओलीजी लागिरहनुभएको छ,” उनले भने, “यसले मुुलुकलाई बवार्दीको बाटोमा लाग्छ ।” सरकारकै कारण संघीयता कार्यान्वयनमा समस्या देखिएको कोइरालाको कथन थियो ।