३ सय १९ योजना सम्पन्न


नेपाल समाचारपत्र, दार्चुला
दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाले गत आर्थिक वर्ष २०७४÷०७५ मा ३ सय ३० वटा योजनाहरु संचालनमा गरेकोमा ३ सय १९ योजनाहरु निर्माण सम्पन्न गरेको जनाएको छ । नगरपालिकाको वडा नम्बर १ देखी ९ नम्बर वडा सम्म संचालनमा गरेका ३ सय ३० विभिन्न विकास निर्माणका योजनाहरु मध्ये ३ सय १९ योजनाहरु सम्पन्न भएको जनाएको छ ।

नेपालको पुनः संरचना संगै नेपाल राज्यको ७ न. प्रदेश अन्तर्गत दार्चुला जिल्लाको सदरमुकाम खलंगा वरपरका क्षेत्रहरु खलंगा, छापरी, काँटै, धाप र दत्तु साविकको अपी नगरपालिका वडा नं. १४ देखि १७ लाई समायोजन गरेर पबित्र धर्मस्थल मानसरोबरको प्रवेशद्धार, हिमालयको काख, महाकाली नदीको किनारमा महाकाली लोकमार्ग संगै जोडिएका ९ वटा वडाहरु रहेको महाकाली नगरपालिकाले गत आर्थिक वर्ष २०७४÷०७५ मा उक्त संख्याका विकास निर्माणका योजनाहरु सम्पन्न गरेको छ, भने ११ वटा योजनाहरु क्रमागतमा राखेको छ ।

नगरपालिकाले गत आर्थिक वर्ष २०७४÷०७५ मा विभिन्न विकास निर्माणका कामहरुमा ९ करोड ७० लाख ६४ हजार रुपैया खर्च गरेको जनाएको छ । कुल अनुमानित लागत ११ करोड २० लाख ४७ हजार रहेकोमा ९ करोड ७० लाख ६४ हजार रुपैया खर्च भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले सबै भन्दा बढी बाटोका योजनाहरु सम्पन्न गरेको छ । त्यसैगरी पुलपुलेसा, उद्यान, कृषि, खानेपानी, पानी घट्ट, ढलनिकास, सडक, सिचाई, भवन निर्माण, तथा तटबन्ध निर्माण गरेको छ । नगरपालिकाले हाल सम्म २१ वटा ऐन, नियम, निर्देशिका, कार्यविधि, तथा मापदण्डहरु निर्माण गरेको छ ।

कुल १ सय ३५ दशमलव ११ वर्ग किलोमिटर क्षेत्रफल ओगेटेको नगरपालिकाको जनसंख्या २१ हजार २ सय ३१ रहेको छ । महाकाली नगरपालिका उच्च हिउँ पर्ने हिमाली क्षेत्र देखि नदी किनारामा रहेका फाँटहरुलाई समेटेर बनेको छ । धार्मिक एवं साँस्कृतिक शक्ति पिठहरु मौलिक साँस्कृति, प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकोले महाकाली नगरपालिका पर्यटनको प्रचुर सम्भावना बोकेको छ । नगरपालिका भित्र प्रकृतिको अनुपम नमुनाको रुपमा जैविक विधितता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण र विविध जातजाती, भाषाभाषी तथा धर्मावलम्बिहरुको साझा बसोबास रहेको छ ।