सबै यात्रुलाई टिकट अनिवार्य


गणेश घिमिरे, इलाम
सवारी साधनले यात्रुबाट मनलाग्दी भाडा असुल्न थालेपछि इलाममा सबै सडकका सबै यात्रुलाई टिकट अनिवार्य गरिएको छ । लामो वा छोटो दूरीको यात्रा गर्न गाडी चढ्ने सबै यात्रुलाई व्यवसायीले अब अनिवार्य रूपले टिकट दिनुपर्ने भएको हो । कुनै यात्रुबाट तोकिएभन्दा बढी भाडा असुले १ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना असुल्ने नियममा समेत कडाई गरिएको छ ।

यातायात व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले अब सबै सडकमा यात्रा गर्ने यात्रुलाई टिकट अनिवार्य दिनुपर्ने नियम बनाएको र कडाईका साथ कार्यन्वयनमा ल्याएको बताए । उनले भने– ‘सवारी साधनले मनपरी भाडा असुलेको गुनासो आएपछि टिकट अनिवार्य गरिएको हो, अब कसैले तोकिएभन्दा बढी भाडा लिए तथा कुनै व्यवसायीले यात्रुलाई टिकट दिन नमाने तत्काल प्रहरीलाई खबर गर्नुहोस् ।’ लामो समयको प्रयासपछि समितिले पक्कि मात्र नभएर जिल्लाका कच्ची सडकसमेतको भाडादर तोकिसकेको छ । समितिले १ सय ४३ सडक रुटको नयाँ भाडादर हेरफेर गरेको हो ।

जिल्लामा २०७३ साल चैतयता नयाँ भाडादर तोकिएको थिएन । यसअघि तोकिएको भाडादर र यातायात व्यवस्था विभागले तोकेको मापदण्डलाई आधार बनाएर नयाँ भाडादर निर्धारण गरिएको समितिले जनाएको छ । यातायात व्यवस्थापन समिति र जिल्लास्थित पूर्वेली जिप तथा ट्याक्सी यातायात प्रालिको समन्वयमा नयाँ भाडादर सबैजसो सार्वजनिक सवारी साधनमा टाँसिएको छ ।