सरकारको उपलब्धि ल्यान्ड लिक्ड कन्ट्री: प्रचण्ड


यमलाल भुसाल, बुटवल
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भुपरिवेष्ठित मुलुक नेपाल अब नरहेको बताउनु भयो । ‘नेपाल भूपरिवेष्ठित भन्दा पनि भारत परिवेष्ठित मुलुक थियो, भारतले ताला लगाएर राखेको ल्याण्डलक कन्ट्री नेपाललाई ल्याण्ड लिक्ड कन्ट्री (भूसंयोजित) बनाउँदै छौं’, उहाँले भन्नुभयो–‘यो बहुमत सरकारको उपलब्धि भएको दावि गर्नुभयोे ।

उहाँले २०२८ सालबाट फुट्न सुरु गरेको कम्युनिष्ट पार्टीहरुको एकता असाधारण उपलब्धि भएको दावी गर्नुभयो । उहाँले प्रतिक्रियाबादीहरुको ईच्छा आकांक्षा विपरित चुनावी एकता हुँदै पार्टी एकिकरण गरेर ऐतिहासिक काम गरेको बताउनु भयो । उहाँले अवको जमाना कनेक्टिभिटीको रहेको बताउँदै अव रेल, हवाई , टेली कम लगायतका क्षेत्रमा तिब्र गतिले बिकास हुने दावी गर्नुभयो ।

अध्यक्ष प्रचण्डले अव सरकारले कामको गति तिब्र बनाउने बताउँदै सरकारको गतिलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ । उहाँले सरकार गठन पछि काम गर्न केही समस्या भएपनि अव सजिलो परिस्थिती बन्दै गएकाले सरकारले काम गर्ने गति बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको शुभकामना सन्देश सभामा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष प्रचण्डले सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन धेरै ध्यान दिनुपरेकाले कामको गति केही सुस्त भएको उल्लेख गर्नुभयो ।

अध्यक्ष प्रचण्डले पार्टी एकीकरणको प्रक्रिया टुंग्याउन केही ढिलाई भएको स्वीकार गर्दै विवादका कारण नभई सुझबुझ र विवेकपूर्ण निर्णय गरि चाँडै नै पार्टी एकतालाई टुंगोमा पु¥याउने बताउनु भयो ।

उहाँले राजनीतिक क्रान्तिको युग सकिएको र अवको दशक बिकासको दशक भएको बताउनु भयो । उहाँले विपक्षिहरु साना कुरालाई ठूलो बनाएर झिंगेदाउमा लागेको समेत आरोप लगाउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले पार्टी एकिकरण गरि शक्तिशाली कम्युनिष्ट पार्टी बनाएर जनतासंग गरेको बाचा पुरा गरेको बताउनु भयो । मुलुक भित्रका सबैप्रकारका विभेद, उत्पिडन, वर्गीय थिंचोमिचो अन्त्य गर्नकालागि पार्टी एकिकरण भएकाले र प्रदेश, जिल्ला, स्थानीय तह तथा जनवर्गीय संगठनहरुमा अव छिटै एकिकरण हुने बताउनु भयो ।

त्यस्तै स्थायी समिति सदस्य तथा प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकता प्रकृयालाई विलम्ब नगर्न नेतृत्वलाई आग्रह गर्दै मुलुकको बिकास र समृद्धिमा संक्रमणका जटिलताका कारण केही समय लागेपनि छिटै संक्रमणका जटिलतालाई पार लगाउने बताउनु भयो ।