कांग्रेसले दशैभर जनजागरण अभियान गर्ने


नेपाल समाचारपत्र, काठमाडौं
नेपाली कांग्रेसले देशैभर जनजागरण अभियान शुरु गर्ने भएको छ । शनिबार काठमाडौंमा नेपाली कांग्रेस जागरण अभियान गोरखाद्वारा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले जागरण अभियानलाई ७७ जिल्लामा नै विस्तार गर्ने बताएका हुन् ।

नेपाल एकीकरणको अभियान पृथ्वीनाराण शाहले गरेको गोरखाबाट नै शुरु गरेकाले सफल भएको चर्चा गर्दै शिक्षक संघ अध्यक्ष सिन्धुलीका केशवप्रसाद भट्टराईले यसलाई देशैभर अभियानका रुपमा लैजाने बताउनुभयो । गोरखाबाटै यो अभियान शूर गर्दा नेपालभर नै सही सन्देश जाने उहाँको भनाइ थियो । कांग्रेसका नेताहरुमा सुन्ने शक्तिको कमी भएको हुँदा शक्ति आर्जन गर्न तरिका चाहिने पनि बताउनुभयो ।

अर्का वक्ता देवेन्द्रप्रसाद उपाध्यायले आफू चित्रबहादुर बन्न खोजेको प्रस्ट्याउनुभयो । संघीयता नै घाँडो भएको उहाँको तर्क थियो । ‘शेरबहादुरको बेठीकलाई सहेर बस्नेचाहिँ के ठीक छन् त ?’ –उहाँको प्रश्न थियो ।

कांग्रेसमा असन्तुष्टि ठीक कि बेठीक भन्ने विषयमा अभियान चलाएको आयोजकको भनाइ थियो । चुनावमा असन्तुष्ट पक्षले यो अभियान चलाएको भन्ने आरोपको खण्डन गर्दै डा. टीका पोखरेलले कसैले लाञ्छना लगाए पनि नडराई अघि बढ्न आग्रह गर्नुभयो । उहाँले परिवर्तन सम्भव छ र हुन्छ भन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

वक्ताहरुले गोरखा २ बाट शुरु भएको यो अभियानलाई ७७ जिल्लामा नै महाअभियानका रुपमा लैजान सुझाव दिएका थिए । विभिन्न जिल्लाबाट कांग्रेसमा आस्था राख्ने बौद्धिक समूहले यस महाअभियानमा साथ र सहयोग गर्दै आएको छ ।
अभियानका सचिव प्रदीप ढकालले सञ्चालन गर्नुभएको कार्यक्रममा डा. नवराज कट्टेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने गेहेन्द्र विष्टको अध्यक्षतामा कार्यक्रम भएको थियो । नवराज कट्टेलको कार्यपत्रमाथि विभिन्न वक्ताले टिप्पणी गर्नुभएको थियो ।