किसानलाई तरकारीका विरुवा वितरण


मनोज भट्ट,  महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १५ मा किसानहरुलाई तरकारी विरुवा वितरण गरिएको छ । वडा कार्यालयले स्थानीयलाई तरकारी खेतीका लागि तरकारीका विरुवा उत्पादन गरी वितरण गरेको हो । भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले किसानहरुलाई तरकारीका विरुवा वितरण गरे ।

वडा अध्यक्ष भीम बहादुर शाहु सहित जनप्रतिनिधिको सहभागितामा विरुवा वितरण गरिएको छ । सो अवसरमा नगर प्रमुख विष्टले नगरपालिकाले कृषिलाई विशेष प्राथमिकमा राखेर कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दैै नगर वासिन्दालाई तरकारीमा आत्मनिर्भर बनाउन तरकारी विरुवा उत्पादन गरी वितरण गरिएको बताए । नगर प्रमुख विष्टले टोल विकास संस्थासित सहकार्य र समन्वय गरी कृषि सम्बन्धी कार्यक्रम गरिने बताए ।

वडा कार्यालयले एक हजार तरकारीका विरुवा उत्पादन गरी वडाका किसान समूहलाई वितरण गरिएका वडा अध्यक्ष भीम बहादुर शाहुले बताए । ‘किसानलाई कृषिमा आत्मनिर्भर गराउन विरुवा उत्पादन गरी वितरण गरिएको छ’ वडा अध्यक्ष शाहुले भने,‘यस कार्यक्रमलाई निरन्तरता दिन्छौ ।’ वडा नं. १५ मा १३ टोल छन् ।

अध्यक्ष शाहुले कृषि उत्पादन वृद्धिका लागि किसानलाई बिउ विजनमा अनुदान दिने नीति लिएको जानकारी दिए । नगर प्रमुख विष्ट सहित नगरपालिका कार्यालयका प्रशासकीय अधिकृत हरि सिह धामी, वडा अध्यक्ष शाहु, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उप प्राध्यापक खगेन्द्र जोशी लगायतले किसान समूहलाई विरुवा वितरण गरे ।