अस्थायी शिक्षकको नतिजा तिहारपछि मात्रै


काठमाडौं । अस्थायी शिक्षकको आन्तरिक परीक्षाको नतिजा तिहारपछि मात्रै प्रकाशन थालिने भएको छ । धेरै विषय र तीन तहको नतिजा सार्वजनिक गर्नुपर्ने भएकाले तिहार अघि नै नतिजा सार्वजनिक गर्न नसकिने शिक्षक सेवा आयोगले प्रस्ट्याएको छ ।

तिहारअघि केही विषय र तहको नतिजा मात्र भएपनि सार्वजनिक गर्ने तयारी आयोगले गरेपनि त्यो सम्भव नहुने भएको हो । उत्तरपुस्तिका परीक्षण सकेर रुजु तथा पुनः परीक्षण भइरहेको भन्दै आयोगका प्रशासकिय प्रमुख डा. तुलसी थपलियाले बाँकी रहेको प्राविधिक काम यही गतिमा अघि बढे तिहार अघि नतिजा सार्वजनिक गर्न गाह्रो हुने बताए । धेरै जनशक्ति खुलातर्फको विज्ञापनमा खटाउनु परेकालेपनि आयोगले सोचेजस्तो काम गर्न नसकेको हो ।

अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन असार २९ र ३० गते परीक्षा लिइएको थियो । परीक्षामा अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदका लागि अस्थायी शिक्षकबीच प्रतिस्पर्धा भएको थियो । शिक्षकका फरकफरक समूहले फरकफरक माग राख्दै आन्दोलन गरेकाले आयोगले पाँचौ पटकको प्रयासमा अस्थायी शिक्षकका लागि परीक्षा लिन सफलता पाएको थियो ।

यसबाहेक आयोगले खुला प्रतिस्पर्धाबाट १२ हजार ७ सय ३९ दरबन्दीमा शिक्षक नियुक्त गर्न असोज ११, १२ र १३ गते परीक्षा सञ्चालन गरेको थियो ।