बलात्कृत बालिकाको गलत रिपोर्ट बनाउने डाक्टरलाई मुद्दा

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई डाक्टरविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। जबरजस्ती करणी मुद्दामा १२ वर्षीया बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदन गलत दिएको आरोपमा आयोगले शुक्रबार अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले जनकपुर अञ्चल अस्पतालका डा. विजयकुमार सिंह र रम्भा गोइतविरूद्ध अदालतमा अभियोगपत्र दायर गरेको आयोगका प्रवक्ता रामेश्वर दंगालले बताउनुभयो। भदौ ८ गते भएको जबरजस्ती करणी मुद्दाको अनुसन्धान सिलसिलामा डाक्टरद्वयले गलत प्रतिवेदन तथ्य दिएको भन्दै अख्तियारमा मुद्दा परेको थियो।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गलत भएको जिल्ला अस्पताल सिरहाबाट भदौ २५ गते पुष्टि दुबै डाक्टरमाथि अनुसन्धान थालिएको आयोगले जनाएको छ। आफ्नो जिम्मेवारी अनुसार गर्नुपर्ने काम नगरी लापरबाहीपूर्वक अनुसन्धान कार्य प्रभावित गरेको प्रमाणित हुन आएको हुँदा दुबैविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

ऐन २०५९ को दफा १९ को उपदफा २ बमोजिमको सजाय माग दाबी गरिएको यो मुद्दामा तीन महिनादेखि एक वर्षसम्म कैद र १० देखि पचास हजार रूपियाँसम्म जरिवाना हुने व्यवस्था छ।