कांग्रेसको जलपानमा स्वास्थ्य जाँच पनि

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
नेपाली कांग्रेसले पार्टी मुख्यालयमा आयोजना गरेको जलपान कार्यक्रममा स्वास्थ्य परीक्षण पनि गरिएको छ। बडादशैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रममा आयोजित स्वास्थ्य शिविरमा सामान्य घाउ तथा चोटपटकको ड्रेसिङ गर्ने, रक्तचाप परीक्षण गर्ने र सामान्य औषधि निःशुल्क दिने गरिएको थियो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार नेपाल स्वास्थ्यकर्मी संघले जलपानमा आएकाको स्वास्थ्य जाँच गरेका हुन्। हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै आएको कांग्रेसले नेता चक्रप्रसाद बास्तोलाको निधनका कारण शुक्रबार यो कार्यक्रमको आयोजना गरेको हो। २०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसको जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्ने परम्परा रहँदै आएको थियो। २०७३ मा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनको वार्षिकी भएकाले र विसं २०७४ मा निर्वाचनका कारण जलपान कार्यक्रम आयोजना गरिएको थिएन।

जलपान समारोह पार्टी केन्द्रीय कार्यालयबाहेक ७४ जिल्लामा नै आयोजना गरिएको थियो। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित मुख्यालयका लागि करिब १ लाख निमन्त्रणा पठाइएको प्रवक्ता शर्माले जानकारी दिनुभएको छ। जसमध्ये अधिकांश जलपान कार्यक्रममा सहभागी भएको उहाँको दाबी छ। कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारगृहका प्रतिनिधि, पत्रकार, गैरआवासीय नेपालीका संघसंस्थाका पदाधिकारीलगायत विशिष्ट व्यक्तिका साथै कांग्रेसका सदस्य एवं शुभेच्छुकको सहभागिता रहेको थियो।

शुभकामना आदानप्रदान तथा जलपान समारोहमा सहभागीलाई स्वागत गर्न सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विजयकुमार गच्छदारलगायतका शीर्ष नेता दिनभर बसेका थिए। दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म आयोजित जलपान कार्यक्रममा विदेशी अतिथिका लागि २ बजेदेखि ३ बजेसम्म पार्टी कार्यालयको माथिल्लो हलमा चियापानको व्यवस्था मिलाइएको थियो।