धनवीर दाहाल, रुकुम ।
जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गरेका छैनन् भन्ने गुनासाहरु आइरहेका बेला रुकुम पश्चिम बाँफिकोट गाँउपालिका वडा नं ३ का वडा अध्यक्षले भने आफ्नो पारिश्रमिक असहाय र अशक्तलाई प्रदान गर्नुभएको छ । वडा नं ३ का वडा अध्यक्ष चन्द्रबहादुर के.सीले आफ्नो पारिश्रमिकबाट बाँफीकोट गाँउपालिकाका १० वटै वडाका असहाय र अशक्त गरी २५ जनालाई जनही चार हजारको दरले एक लाख रकम प्रदान गर्नुभएको हो ।
बिशेष गरी गरिव, बिपन्न, दिर्घ रोगी, टुहुरा वालवालिका लगाएत अशक्त असहायलाई आफुले पाएको पारिश्रमिक रकम प्रदान गर्नुभएको हो । बाँफिकोट गाँउपालिकाका वडा नं ५ का दुई जना, वडा नं ३का १५ जना र अन्य वडाबाट एक एक जना गरी २५ जनालाई रकम हस्तानतरण गरिएको हो । समाजमा रहेका यस्ता बिपन्न तथा असहायलाई सेवा गर्नु आफ्नो कर्तव्य भएको वडा अध्यक्ष चन्द्रबहादुर के.सीले बताउनुभयो ।
उहाँले भन्नुभयो “बिपन्नलाई सहयोग गर्नु मेरो धर्म हो कर्तव्य पनि हो । मेरो सानो सहयोगले धेरै उद्धार नभएपनि केही हद सम्म सहयोग पुग्ने अपेक्षा छ ।” वडा नं ८ का मुटु रोगी मोहन के.सीले आफु फरक वडाको भएपनि आफुलाई बोलाएर वडा नं ३ का अध्यक्षले सहयोग गरेकामा खुसी प्रकट गर्नुभयो । आफुहरुलाई यसले धेरै राहत भएको उहाँको भनाई छ ।
यस्तै वडा नं ३ का अपांङ्ग गणेश बोहराले पनि आफुलाई सहयोग गरेकोमा अध्यक्ष प्रति आभार प्रकट गर्नुभएको छ ।
बाँफिकोट गाँउपालिका वडा नं ३ को वडा कार्यालयमा ति असहाय र अशक्त तथा बिपन्न एवं दिर्घ रोगीलाई जम्मा गरी आफ्नो पारिश्रमिक वडा अध्यक्ष के.सीले हस्तानतरण गर्नुभएको हो । यसै गरी सोही कार्यक्रममा वडा नं ३ मा मन्दीर निर्माणका लागी वडा कार्यालयबाट रु ५००० पनि हस्तानतरण गरिएको छ ।











प्रतिक्रिया