पर्यटकले बनाइदिए स्रोत भवन

0
Shares

धनवीर दाहाल, रुकुम ।
पर्यटकहरु घुम्न आउनु त स्वभाविक हो । पर्यटकिय ठाँउहरु घुम्नु तथा रमाउनका लागी पर्यटकहरु आउने गर्दछन् ।
तर रुकुमको एक ठाँउमा आएका पर्यटकले भवन निर्माण गरिदिएका छन् । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर –६ दहबाङमा विदेशी पर्यटकले एकिकृत स्रोत भवन निर्माण गरेका हुन् । सूचना केन्द्र, लाइव्रेरी, कृषि प्रयोगशाला लगायत अन्य प्रयोजनका लागि १८ देशका पर्यटकले भवन निर्माण गरेका हुन् ।

विभिन्न देशका एकसय बढी विदेशीले स्वयंसेवा मार्फत निर्माण गरेको तीनकोठे स्रोत भवनको एउटा कोठामा हाल पुस्तकालय सञ्चालनमा आएको छ । भवन निर्माणका लागि १० लाख बराबरको रकम खर्च भएको स्रोत भवनका निर्देशक हुकुमप्रशाद देवकोटाले बताउनुभयो ।

उहाँका अनुसार उक्त रकम पनि विदेशी पर्यटकले नै खर्च गरेको बताईएको छ । तर स्रोत केन्द्र अन्तर्गत खेलकुद रंगशाला, बालउद्यान, ग्रिनहाउस, कलाकेन्द्र, बहुउद्देश्यीय सभाहल, आईटी लगायत संरचना बन्न भने बाँकी छ ।

विदेशी आकारमा निर्माण गरिएको स्रोत भवन निर्माणको सम्पुर्ण काम विदेशी पर्यटकले नै गरेको र भवन समेत पूर्ण भूकम्प प्रतीरोधी रहेको जनाईएको छ । गाउँमा स्रोत भवन निर्माण भएपछि दहबाङ सम्म हाल सडक, बिजुली र खानेपानी समेत पुगेको छ ।

विकासका लागि संयुक्त अभियान नेपालले गतवर्षको पुस महिनामा विदेशी पर्यटकलाई दहवाङ ल्याएको थियो । रुकुम पश्चिम, सल्यान र रोल्पाका लागि पायक पर्ने यस ठाउँबाट कृषिदेखि इन्टरनेट सेवा प्रवाह गर्ने उदेश्यले एकीकृत स्रोत केन्द्र निर्माण गरिएको अभियानका अध्यक्ष रञ्जु भण्डारीले जानकारी दिनुभयो ।

“भवन निर्माणको क्रममा हाम्रो संस्था र स्थानीयले विदेशीलाई केही दिनुपरेन,” भण्डारीले भन्नुभयो । भवनको काम सकिएपछि यसको थप मर्मत र विकासका लागि उक्त स्रोत भवन गाउँपालिकालाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले भने स्रोत भवन आफनो मातहतमा आईसकेकोले उक्त भवनमा तत्काल युवा तथा खेलकुद शाखा राख्ने निर्णय गरेको छ ।

त्यसको लागि गाउँपालिकाले १० लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत तेजकुमार ओलीले बताउनुभयो । पर्यटकिय महत्व बोकेको यस ठाउँबाट धौलागिरी, सिस्ने लगायत उच्च हिमाली श्रृखलाहरु देख्न सकिन्छ ।