कृष्ण उदास खनाल, गोरखा ।
०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले सशस्त्र जनयुद्धको घोषणा गरेको पनि गोर्खाको हंसपुर गाविसका सर्वसाधारणहरु प्रत्यक्ष मारमा परेका छन् ।
हसपुर गाविस वडा नम्बर २ घर भएका चन्द्र प्रसाद खनाल पेशाले कृषक थिए ।
०५८ साल मंसिर ११ गते तत्कालिन सरकारले मुलुकभर संकटकालको घोषणा गरेको पाँच दिनपछि मंसिर १६ गते घर नजिकैको खेतमा दाँही हालिरहेको अवस्थामा गाउँ नजिकै रहेको सेना र प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लियो ।
उमेरले पाँच दशक नाघेका खनाललाई सेनाले पक्राउ गरे लगत्तै घरमा ल्यायो । त्यपछि उनकै घरमा रहेको डोरीले खनालको हात पछाडि लगेर बाँधेर सेनाको क्याम्प भच्चेकमा लग्यो । उनीसँगै उनका जेठा छोरा दुर्गा खनाललाई पनि सेनाले लग्यो । आफूलाई क्याम्पमा लगेर सेनाले अचेत हुनेगरी कुटेपछि भोलिपल्ट बिहान छाडेपनि पिताको भने अत्तोपत्तो नभएको दुर्गाले गुनासो गरे । सेनाको कुटाईबाट देब्रो गोडाको हड्डी फुस्किएर घाइते भएका दुर्गा अझैपनि खुट्टा खोच्याएर हिँड्ने गर्दछन् ।
पतिलाई सेनाले पशुलाई जसरी बाँधेर लगेपछि खनालकी पत्नी सीता खनाल बेला बेलामा बेहोस हुने गर्छिन् । उनले आफ्नो पतिलाई बेपत्ता बनाउनेलाई अझै कारवाही नभएको भन्दै कि लाश कि सासको माग गरिन् । माओवादी पार्टी पनि बिर्सजन भएपछि बेपत्ता परिवारले अब आफ्ना मान्छे खोज्ने ठाउँ समेत नभएको बताए ।
त्यसोत हंसपुर गाविस वडा नम्बर १ घर भएका भरत अधिकारीकी पत्नी लक्ष्मी अधिकारी पतिलाई संझिएर रोइन् । आफ्नो पतिको फोटो देखाउदै लक्ष्मीले आफ्नो पतिलाई बेपत्ता बनाउनेलाई कारवाही नभएको गुनासो गर्दै उनले पनि कि लाश कि सास आफूहरुलाई चाहिएको कुरा बताइन् । उनले रुदै माओवादी नेतृत्वको सरकारले समेत आफूहरुलाई उपेक्षा गरेको पीडा पोखिन् । अधिकारीलाई ०५८ पुस २९ गते सेनाले नियन्त्रणमा लिई बेपत्ता बनाएको थियो ।
हंसपुर गाविस वडा नम्बर ४का माधव अधिकारीको पत्नी शावित्रीको पीडा पनि छैन। उनले पनि आफ्नो पतिको लाश र सासको माग गरिन् । माधवलाई पनि सोही साल पुस २९ गते घरबाटै सेनाले नियन्त्रणमा लिएको थियो ।
त्यसोत पेशाले शिक्षक रहेका हंसपुर गाविस वडा नम्बर ३ का बुद्धिबल बि.क. बिद्यालय जाने क्रममा सेनाले नियन्त्रणमा लिएको थियो । उनकी जीवनसंगिनी रमाको पीडा पनि अरुको भन्दा फरक थिएन । उनले पनि आफ्नो पतिको लाश र सासको माग गर्दै माओवादी नेतृत्वको दुईवटै सरकारप्रति निकै आक्रोश पोखिन् ।
राज्यले घर मुली वा आफ्नो जीवनसाथीलाई बेपत्ता बनाएपछि अहिले उनीहरुका पत्नीहरुको अवस्था भने निकै दयनीय र कष्टकर बन्दै गइरहेको छ । बिशेषगरी उमेरश ढल्कदै गएका कारण परिवारका सदस्यहरुबाटै प्रताडित बन्न उनीहरु पुगेका छन् ।जसको साथमा जीवन बिताउने कसम खाएर आएका थियौं उहाँ नै नभएपछि अहिले घर परिवार आफ्नै छोरा,बुहारीबाट समेत आफूहरु हेंलाको पात्र बन्न परेको पनि बेपत्ता पारिएका पत्नीहरुले गुनासो गरेका छन् ।
बेपत्ता बनाइएका हंसपुर गाविसका चन्द्र प्रसाद खनाल,भरत अधिकारी,माधव अधिकारी र बुद्धिबल बिकका धर्मपत्नीहरु रोएर नै बस्ने गरेका छन् ।
दशैं आउछ तिहार आउछ तर हामीलाई कहिल्यै यी पर्व आए जस्तो अनुभूति नभएको पीडितहरुले बताएका छन् । यद्यपी बेपत्ता छानबिनका लागि गठन गरिएको आयोगको समेत समय सीमा बिना उपलब्धी तीन बर्ष सकिनै लागेमा भने पीडित परिवारका सदस्यहरु भ्mनै चिन्तामा परेका छन् । उनीहरुले आयोगको अर्थ नभएको बताएका छन् तर बेपत्ता छानबिन आयोगले भने काम भइरहेको भन्दै आफ्नो बचाऊ गर्दै आएको छ । सशस्त्र द्वन्दको समयमा गोरखा सहितका देशभर एक हजार पाँचसय ब्यक्तिहरु बेपत्ता बनाइएको पाइएको छ ।











प्रतिक्रिया