सातओटै स्थानीय तहमा पार्टी एकताको खाका तयार


राम धामी, डडेल्धुरा
डडेल्धुरा जिल्लामा तत्कालिन नेकपा(एमाले) ले चार ओटा स्थानीय तह र तीन ओटा स्थानीय तहमा तत्कालिन माओवादी केन्द्रले नेतृत्व गर्नेगरि पार्टी एकताको खाका तयार भएको छ ।

जिल्लास्तरमा पार्टी एकताका लागि गठित कार्यदलले बिहीबार तत्कालिन एमालेले सदरमुकामस्थित अमरगढी नगरपालिकासहित नवदुर्गा, गन्यापधुरा र आलिताल गाँउपालिका र तत्कालिन माओवादी केन्द्रले अजयमेरु र भागेश्वर गाँउपालिकाका साथै भित्रिमधेसस्थित परशुराम नगरपालिकाको नेतृत्व गर्ने सहमति जुटाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्लास्तरीय नेताहरुले जनाएका छन ।

डडेल्धुरा जिल्लाका सातओटै स्थानीय तहमा पार्टी एकताका लागि जिल्लास्तरीय कार्यदलले खाका तयार गरिसकेको र वडास्तरमा पार्टी एकताको खाका बनाउन थप छलफल भईरहेको नेकपाका नेता पुर्व जिविस सभापति गजेन्द्र शाहीले जानकारी दिए । स्थानीय तहको नेतृत्व सम्बन्धमा दुई पार्टीबीच सहमति जुटेसँगै नेतृत्व आफ्नो पोल्टामा पार्न दुबै पार्टी सम्वद्ध नेता कार्यकर्ताहरु सकृय हुन थालेका छन् ।

तत्कालिन नेकपा (एमाले)ले नेतृत्व गरेका स्थानीय तहमा सचिवको जिम्मेवारी माओवादी केन्द्रले पाउने छ भने तत्कालिन माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तहमा तत्कालिन एमालेलाई सचिवको जिम्मेवारी दिईने छ । स्थानीय तह र वडास्तरमा पार्टी एकताको खाका तयार भईसकेपछि पार्टी एकता घोषणा गरिने र संगठन बिस्तार गरिने नेताहरु बताउछन ।