स्थापितलाई मन्त्रीबाट हटाउने अन्तिम तयारी


नेपाल समाचारपत्र, हेटौंडा
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका दोस्रो वरियतामा रहनुभएका भौतिक पूर्वाधार विकास मन्त्री केशब स्थापितलाई पदबाट हटाउने तयारी गर्नुभएको छ । मन्त्री स्थापितलाई तत्काल हटाउन उहाँले परामर्शलाई तीव्र पार्नुभएको हो ।

मन्त्री स्थापितलाई हटाउन प्रदेशका धेरैजसो मन्त्री सहमत भए पनि पार्टी नेतृत्व र प्रधानमन्त्रीसँगको छलफल बाँकी रहेको बुझिएको छ । यही विषयमा प्रधानमन्त्री केपी ओलीसँग भेट्न बिहीबार मुख्यमन्त्री पौडेल काठमाडौं जानु भएको छ ।

मुख्यमन्त्रीले स्थापितसँग ‘काम गर्न नसकिने’ भन्दै असन्तुष्टि जनाएपछि हटाउन पार्टी नेतृत्वसँग छलफल थाल्नुभएको हो । स्थापितलाई ‘हटाउने’ प्रयोजनकै लागि मुख्यमन्त्री पौडेल र अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेललगायत बिहीबार काठमाडौं जानसभएको छ ।

सत्तामा रहेको नेकपा अध्यक्ष ओलीलगायत नेतृत्वसँग यसबारे छलफल गरिने स्रोतले जनाएको छ । संविधानअनुसार मुख्यमन्त्रीले मन्त्री हटाउन सक्छन् । तर, पार्टी नेतृत्वसँग परामर्श गरेरमात्र निर्णय लिन लागिएको पौडेल निकटस्रोतले बताएको छ ।

यस विषयमा तत्काल निर्णयको सम्भावना देखिएको छ । तर, पार्टीभित्रको गुटबन्दीको प्रभाव उक्त निर्णयमा पर्नसक्ने बताइन्छ । यदि स्थापितलाई मन्त्रीबाट हटाइए मन्त्रीकै रुपमा केही दिनभित्र चीन जाने उनको योजना के हुने हो, त्यो अज्ञात छ ।

मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितको विवादमा प्रदेश राजधानी पनि एक कारक बनेको छ । मुख्यमन्त्री पौडेल अस्थायी राजधानी हेटौंडालाई स्थायी राजधानी बनाउन चाहनुहुन्छ । तर, स्थापित भने ‘काठमाडौं नजिकका क्षेत्र’ लाई स्थायी राजधानी बनाउन लबिङ गर्दैै आउनुभएको छ ।

महिलामथि यौन दुव्र्यवहार र उत्पीडनको आरोप खेपिरहेका मन्त्री स्थापितले मुख्यमन्त्री पौडेललाई पनि पटक÷पटक अभद्र व्यवहार गरेको आरोप छ । मन्त्री स्थापित काठमाडौं महानगरकी एक पूर्वकर्मचारीबाट यौनसम्बन्धि आरोप पनि खेपिरहनुभएको छ ।

करिब १५ अर्ब रुपियाँ बजेट रहेको मन्त्रालयको कार्यप्रगति नदेखिएको भन्दै मुख्यमन्त्री पौडेलले मन्त्रिपरिषद् बैठकमा स्थापितको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभएको थियो । त्यसलगत्तै मन्त्री स्थापितले मुख्यमन्त्री पौडेललाई चर्को स्वरसहित अभद्र व्यवहार गर्नुभएको एक मन्त्रीले बताए । तर, स्थापित आफ्नो स्वर नै ठूलो रहेको भन्दै पन्छिने प्रयास गर्नुभयो ।

मन्त्री स्थापितले बैठकहरुका निर्णयविपरीत काम गर्ने गरेको, मुख्यमन्त्रीको निर्देशन अटेर गरेको, स्थापितकै ढिलासुस्तीका कारण भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित कानुन निर्माणमा ढिलो भएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले दाबी गर्नुभयो ।
तर, मन्त्री स्थापितले भन्नुभयो–एउटै परिवारभित्र कहिलेकाहीं त्यस्तो त भइहाल्छ नि । विभिन्न विषयमा छलफल हुन्छन् । मैले कुनै अपमानजनक व्यवहार गरेको छैन । र, मलाई मन्त्रीबाट हटाउने गरी मुख्यमन्त्रीज्यूले त्यस्तो कुनै काम गर्नुभएको छैन ।

मन्त्री स्थापितले विकास निर्माणका कामको नतिजा आउन समय लाग्ने मुख्यमन्त्रीलाई बताएको र कागजपत्र मुख्यमन्त्रीलाई दिएको दाबी गर्नुभयो । ‘मैले प्रदेश विकासका लागि गर्न लागिएको टेण्डरहरुको डकुमेन्ट दिएको थिएँ,’ उहाँले भन्नुभयो–मन्त्रालयको कुनै पनि काम टेण्डरबिना गर्नै सक्दैन, प्रक्रिया पूरा नगरी काम गर्दा कर्मचारी मान्दैनन् । प्रक्रिया पूरा नगरी अघि बढ्न मिल्दैन । ‘मुख्यमन्त्रीज्यु तत्काल नतिजामात्र खोज्नुहुन्छ, म तत्काल कसरी दिनसक्छु र,’ उहाँले भन्नुभयो–क्याबिनेटमा केही चर्काचर्की चाहिँ भएकै हो ।

‘प्रदेशको झण्डै आधा बजेट त त्यही मन्त्रालयमा छ । तर, उहाँ मन्त्रालयमा नबस्ने, घुमेर मात्र हिँड्ने । मुख्यमन्त्रीले मन्त्रालयमा बस्नुप¥यो, काम गर्नुप¥यो भनेर पटक÷पटक ध्यानाकर्षण गराउँदै आउनुभएको थियो,’ एक मन्त्रीले भने ।