नगरबस सञ्चालनले स्थानिय लाभान्वित


विमल बिष्ट, डोटी
डोटीको दिपायल सिलगढी नगरपालिकाले आफनो नगरभरीमा नगरबस सञ्चालनमा ल्याएपछि स्थानियबासीलाई निकै राहत भएको छ ।
नगरबस सेवा सञ्चालनमा आएसँगै यात्रुहरूलाई सहज भएको हो । नगरबस सञ्चालनमा आएपछि दिपायल, सिलगढी, राजपुर, पिलल्ला लगायतका बजारमा ओहोरदोहोर गर्न सवारीसाधनका लागि घण्टौँ कुर्नुपर्ने बाध्यताबाट नगरवासीले मुक्ति पाएका छन् ।

यसअघि शैलेश्वरी यातायात व्यवसायी संघ अन्तर्गतका महेन्द्रा जीपले यात्रु ओसार्दै आएको भए पनि यात्रुबाट महँगो भाडा लिने र यात्रुहरूले असुरक्षित रूपमा यात्रा गर्नुपरेको स्थानियको गुनासो थियो । यही गुनासोलाई ध्यान दिई दिपायल सिलगढी नगरपालिकाले हाल दुईवटा नगरबस सञ्चालनमा ल्याएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो ।

‘नाफा कमाउनेभन्दा पनि नगरवासी र सदरमुकाम सिलगढीलगायत दिपायलमा ओहोरदोहोर गर्ने यात्रुहरूलाई सहज होस् भन्ने उद्देश्यले नगरबस सञ्चालनमा ल्याइएका हौ, उहाँले भन्नुभयो ‘हामीले नाफा मुखी हुने होईनौ जनताको सेवा मुखि हुने अभियान थालेका छौ ।’ डोटीमा सञ्चालन भएको नगरबस सेवालाई थप व्यवस्थित र सहज बनाउनका लागि समेत नगरपालिकाले बिबभिन्न किसिमका योजना बनाइरहेको नगरप्रमुख मलासीले बताउनुभयो ।

दिपायल र सिगलगढीको ११ किलोमिटरको दूरीमा शैलेश्वरी यातायात अन्तर्गतका जीपले ५० रुपियाँ भाडा लिँदै आएकोमा नगरबसले सोही दुरीमा ३० रुपियाँ भाडा दर कायम गरेको छ । जसले गर्दा सस्तो र सुरक्षित रूपमा स्थानीय बासिन्दाले यात्रा गर्न पाएको सिलगढीका स्थानिय दीपक बोगटीले बताउनु भयो ।

‘भाडा पनि सस्तो छ,समयमै गन्तब्यमा पनि पु¥याउने भएकाले नगरबसको सेवामा हामी खुसि छौ,उहाँले भन्नु भयो ‘जीप सञ्चालकहरूको मनोमानी समेत कम भएको छ । बिगतमा जीपहरु दिपायल सिलगढी रिजर्भ गरेर ११ किलोमिटर दूरीको एक हजार ५सय रुपियाँसमेत तिर्नु पर्ने बाध्यता रहेको स्थानियबासीहरुको गुनासो छ ।

दिपायल सिलगढी नगरपालिकामा जनप्रतिनिधि आएपछि पहिलो बैठकले दिपालय सिलगढी नगरपालिका लगायत नगर आसपासका क्षेत्रलाई लक्षित गरी नगरबस सञ्चालनमा ल्याउने निर्णय गरिएको थियो । दिपायल सिलगढी नगरपालिकामा नगरबस सेवा सहज भएको देखेपछि जिल्लाको पूर्वीचौकी गाउँपालिका र शिखर नगरपालिकाले समेत बस सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताईएको छ ।