बजार अनुगमन तिब्र


धनवीर दाहाल, रुकुम
संभाबित कालोबजारीकरण रोक्नका लागी रुकुमका स्थानीय तहहरुले बजार अनुगमनलाई तिब्रता दिएका छन् । जिल्लाको चौरजहारी नगरपालिका र आठबिसकोट नगरपालिकाले पटक पटक बजार अनुगमन गरेका छन् ।

आठविसकोट नगरपालिकाले नगरपालिका स्थापना भएपछि छैठौं पटक बजार अनुगमन गरेको छ । नगरपालिकाको वडा नम्बर ९ र ११ स्थित सिमबजार र राडीबजारमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा ५० हजार मूल्य बराबरको घरेलु मदिरा, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ, बिना इजाजत राखिएको मदिरा, मैदा, आटा तथा म्याद गुज्रेका बिस्कुट, मिटमसला लगायतका सामान जफत गरी नष्ट गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिनुभयो ।

पछिल्लो समयमा पहिलेको तुलनामा रुपमा बजार क्षेत्रमा उपभोक्ता र व्यवसायीहरुमा सचेतनाको स्तर बढेको पाइएको उहाँले बताउनुभयो । यद्यपि व्यवसाय दर्ता नै नगरी व्यवसाय गरेको, कर छली, होडिङ बोर्ड नराखिएको, मदिरा तथा अन्य अखाद्य पदार्थहरु पनि खाद्य पदार्थसँगै राखि बिक्रि वितरण गरिएको, होटल तथा नास्ता पसलहरुमा सरसफाईको अवस्था नाजुक रहेको, मूल्य सूची नराखिएको जस्ता समस्या भने व्यापक रुपमा पाईएको नगरपालिकाले जनाएको छ ।

व्यवसायिक स्वस्थ प्रतिस्पर्धा कायम गरी कालोबजारी, एकाधिकार, कृत्रिम अभाव सिर्जना गर्ने कार्यलाई हतोत्साहित गरी उपभोक्ताको हक अधिकार र चासोलाई विशेष रुपमा सम्वोधन गर्न नगरपालिकाको तर्फबाट विशेष अभियान सञ्चालन गर्नुपर्ने महसुस भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले बताउनुभयो । सबै व्यवसायीलाई करको दायरामा ल्याउन तिहार लगत्तै ‘कर र मृत्यु शाश्वत सत्य हुन्’ भन्ने यथार्थतालाई कडाईका साथ कार्यान्वयनमा ल्याईने नगरपालिकाले जनाएको छ ।

यसै गरी चौरजहारी नगरपालिकामा नगर उप प्रमुख राधा रोका को नेतृत्वमा बजार अनुगमनलाई तिब्रता दिइएको छ । व्यवसाय दर्ता नै नगरी व्यवसाय गरेको, कर छलि, होडिङ वोर्ड नराखिएको, मदिरा एवं अन्य अखाद्य पदार्थ खाद्य पदार्थसँगै राखि बिक्रि वितरण गरिएको, होटल तथा नास्ता पसलहरुमा सरसफाईको अवस्था नाजुक रहेको, मूल्य सूची नराखिएको जस्ता समस्या व्यापक रुपमा पाईएको छ । अनुगमणको क्रममा वजारमा चाउचाउ, तेल ,आईसक्रिम ,दालमोट,म्यादगएका समान फेलापरेको संयोजक राधा रोकाले वताउनुभयो ।

नगरपालिका उपप्रमुख राधा रोका को नेतृत्वमा गरिएको वजार अनुगमनमा नगरपालिका निमित्त प्रमुख प्रशाशकिय अधिकृत तारा वहादुर कुंवर, उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम गहतराज, नगर स्वास्थ्य सयोजक अकविर घर्ति , नगर पशुसेवा, नगर कृषि कार्यालय जनप्रतिनिधि नेपाल प्रहरी पत्रकार लगाएतको सहभागीता रहेको थियो । स्याउली वजार नाखिरा नयाँ वजार र त्रिवेणी वजारमा अनुगमण गरिएको छ ।