व्यवस्थित बस पार्क नहुँदा समस्या


धनवीर दाहाल, रुकुम
रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा व्यवस्थित बसपार्क नहुँदा पार्किङ्गमा समस्या भएको छ । २०६२ सालमा दाङ्ग–सल्याण हुँदै रुकुम सम्मको यातायात सेवा जोडिएपछि सल्ले स्थित निर्माण गरिएको बसपार्क जीर्ण बन्दै गएकोले पार्किङ्गमा समस्या भएको हो ।

पछिल्लो समय जिल्लामा यातायातका साधन बढेसंगै एकदशक अघिबाट अस्थाई रुपमा प्रयोग हुँदै आएको सल्ले बसपार्कमा समेत पार्किङ्ग गर्ने ठाउँको अभाव भएको छ । पार्किङ्ग अभावकैै कारण मुसिकोटको बागबजार, पातुखोला, मठ र बसपार्क वरपरको सडकखण्डको छेउ नै पार्किङ्ग बन्न थालेको छ । सडकछेउको पार्किङ्गले जिल्ला अस्पत्ताल सल्लेमा उपचारका लागि आवातजावत गर्ने बिरामी, पैदल यात्री र विद्यार्थीलाई थप समस्या देखिएकोे छ ।

जिल्लाका सर्वसाधरणले भने केही वर्षदेखी मनोमानी ढंगले मुसिकोट बजार क्षेत्रमा बढ्दै गएको सडक पार्किङ्गको व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान नदिएको गुणासो गर्दै आएका छन् । तर मुसिकोट नगरपालिकाले अव्यवस्थित पार्किङ्गलाई व्यवस्थापन गर्न आगामी वर्षबाट नयाँ बसपार्क सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको छ ।

बसपार्क निर्माणका लागि मुसिकोट नगरपालिका–२ को भेरी स्थित २१ रोपनी जग्गाको डिपिआर गरिएको र यसवर्षको अन्तिमबाट निर्माणको काम शुरु हुने मुसिकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले बताउनुभयो ।

बसपार्क निर्माणका लागि मुसिकोट नगरपालिका दुईका स्थानीयले आठवर्ष अघि २१ रोपणी जग्गा नगरपालिकालाई दिएका थिए । हाल नगरपालिकाको नाममा रहेको जग्गामा बसपार्कको काम शुरु नभएकोले चारवर्षदेखी सो ठाउँमा नगरपालिकाको फोहर फाल्ने गरिएको छ ।