फेरि समातियाे सालकको खपटा


नेपाल समाचारपत्र, दोलखा
जिल्ला प्रहरी कार्यालय दोलखाले सोमवार फेरी दुई किलो छ सय ग्राम दुर्लभ बन्य जन्तु सालकको खपटा (आखेटोपहार) सहित दुई जनालाई पक्राउ गरेको छ ।

यस अघि गत भदौ १३ गते पनि प्रहरीले भीमेश्वर नगरपालिका वडा नम्बर ३ लामाचौरबाट दुई केजी नौ सय ग्राम आखेटोपहार (सालकको खपटा) सहित दुई जनालाई पक्राउ गरेको थियो । पछिल्लो सात महिनामा दोलखाबाट तस्करीमा संलग्न पाँच जना सहित सात हजार आठ सय ८० ग्राम सालकको खपटा पक्राउ गर्न सकिएको प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।

मंगलवार तामाकोसी गाँउपालिका वडा नम्बर ५ बाट तस्करीमा संलग्न रामेछाप जिल्ला गोकुलगंगा गाँउपालिका वडा नम्बर ५ का प्रल्हाद खड्का र तस्करीमा प्रयोग भएको बा ९१ प ५८४४ र बा ८३ प २९१९ नम्बरको मोटरसाईकल सहित दुई केजी ६ सय ग्राम सालकको खपटा पक्राउ गरी बुधवार डिभिजन बन कार्यालय दोलखामा बुझाएको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।

पछिल्लो केहि बर्ष यता दोलखाबाट संरक्षित बन्य जन्तु सालकको आखेटोपहार (सालकको खपटा) अत्यधिक मात्रामा तस्करी हुने गरेको प्रहरी तथ्याङ्कले देखाएको छ । विगत पाँच बर्षको तथ्याङ्क हेर्दा दोलखाबाट १३ केजी चार सय ग्राम आखेटोपहार (सालकको खपटा) सहित छ जनालाई पक्राउ गरी आवश्यक कार्वाहि गरिएको प्रहरीले जनाएको छ ।

डिभिजन बन कार्यालय दोलखाको मुद्दा शाखाका नायव सुब्बा राजेन्द्र सुवेदीका अनुसार पछिल्लो तीन बर्षको तथ्याङ्क हेर्दा देश भरीमै दोलखाबाट सबैभन्दा धेरै सालकको खपटा तस्करी हुने गरेको देखिएको छ । २०७५ बैशाख यतामात्र डिभिजन बन कार्यालय दोलखामा आखेटोपहार (सालकको खपटा) तस्करीका चार वटा मुद्दा दर्ता भएको सुवेदीले बताए । नयाँ बन ऐन अनुसार संरक्षित बन्य जन्तु तथा त्यसका बिभिन्न अङ्गहरुको तस्करीमा संलग्नलाई पाँच लाख देखि १० लाख रुपैयासम्म जरीवाना र पाँच देखि १५ बर्षसम्म कैद वा दुबै सजाय हुनसक्ने प्रावधान रहेको छ ।

नयाँ संविधान अनुसार एक बर्ष भन्दा बढी कैद सजाय हुने मुद्दा अदालतमा पेश गर्नु पर्ने कानुनी प्रावधान रहेकोले प्रहरीबाट आएको आखेटोपहार (सालकको खपटा) तस्करीको मुद्दाहरुमा डिभिजन बन कार्यालयले आवश्यक अनुसन्धान पछि अदालतमा बुझाउने डिभिजन बन कार्यालय दोलखाका नायव सुब्बा राजेन्द्र सुवेदीले बताए ।

प्रहरी तथ्याङ्क अनुसार दोलखाबाट २०७१ कार्तिकमा चार सय केजी, २०७४ चैत्रमा दुई केजी, २०७५ साउनमा तीन सय ८० ग्राम र २०७५ असोजमा दुई केजी नौ सय ग्राम गरी १० केजी आठ सय ग्राम आखेटोपहार (सालकको खपटा) सहित त्यसको तस्करीमा संलग्नहरुलाई पक्राउ गरिएको छ ।