विद्यालयमा जंङ्क फुड निषेध घरकै खाजा बोक्छन विद्यार्थी


महेश न्यौपाने, रोल्पा
विद्यालय हाता भित्र फँ्याकिएका विष्कुट, चाउचाउ, चकलेटका पोका टिप्न हैरानी व्यहोर्दै आएका विद्यालयका परिचर शान्तवहादुर घर्तीलाई अचेल त्यस्तो झंझट व्यहोर्नु परेको छैन । विद्यालयलाई जंङ्कफुड निषेधित क्षेत्र घोषणा गरे पछि विद्यालयको हाता सफा देखिन थाले संगै घर्ती त्यस्तो झंझटवाट मुक्त भएका हुन । मध्यान्तरमा नजिकको पसलमा पुगेर चाउचाउ विष्कुट किनेर खाने विद्यार्थीहरुको वानीमा परिवर्तन आएको छ । मध्यान्तरको घण्टी वज्नासाथ हातधोएर आफैले घरवाट ल्याएको खाजा खान थाल्छन विद्यार्थीहरु ।

यसरी जंङ्कफुडलाई पूर्ण रुपमा प्रतिवन्ध लगाई घरको खाजालाई प्रोत्साहन गर्ने विद्यालय हो रोल्पा नगरपालिका २ मा रहेको पिताराज आधारभूत विद्यालय । अभिभावकको सुझावका आधारमा विद्यालय व्यवस्थापन समितिको निर्णय वमोजिम विद्यालयलाई जंङ्कफुड निषेधित क्षेत्र घोषणा गरेको विद्यालयले जनाएको छ । विद्यार्थीहरुको स्वास्थ्य र अभिभावकहरुको आर्थिक अवस्थालाई ध्यान दिई विद्यालयलाई जंङ्कफुड निषेधित क्षेत्र घोषणा गरेको विद्यालयका प्रधानाध्यापक लिला आचार्यले जानकारी दिईन ।

प्रधानाध्यापक आचार्यले दिएको जानकारी अनुसार जंङ्क फुडले विद्यार्थीको स्वास्थ्यमा प्रतिकुलन असर गर्ने भन्दै विगत २ वर्ष देखी विद्यालयमा विक्री वितरण र उपभोगमा पूर्ण प्रतिवन्ध लगाईएको छ । विद्यार्थीले आफ्नो हैसियत अनुसार घरमा तयार गरि ल्याएको खाजा खाने गर्छन प्रधानाध्यापक आचार्यले भनिन । घरमा तयार भएको खाजा खान थालेपछि अभिभावकलाई आर्थिकभार पनि कम भएको छ प्रधानाध्यापक आचार्यले भनिन । सवै विद्यार्थीको लागि टिफिन वक्सको व्यवस्था गरेका छौ त्यसैमा खाजा लिएर आउछन आचार्यले भनिन ।

घरमा पाकेको ताजा खाजा खाँदा विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर नहुने र अभिभावकलाई व्ययभार पनि कम हुने हुदा यस्तो कदम चालेको प्रधानाध्यापक आचार्यको भनाई छ । चाउचाउ विष्कुट चकलेट जस्ता जंङ्कफुडले विगतमा विद्यालय हाता पनि फोहोर हुने गरेकोमा यस्ता वस्तु प्रतिवन्ध लगाए संगै विद्यालय हाता पनि सफा देखिन थालेको आचार्यको भनाई छ । अचेल विद्यार्थीले घरमै तयार गरेर मकै भटमास,रोटी, गहुँ, आलु जस्ता खाजा खाने गरेको वताइएको छ । जंङ्कफुडमा लगाइएको प्रतिवन्ध तथा घरमै तयार गरिएको खाजाले पोषणमा समेत सुधार हुने अपेक्षा गरेको विद्यालयले जनाएको छ ।
विद्यालयमा मात्रै जंङ्कफुड निशेष गर्दा त्यसको सकारात्मक प्रभाव नपर्ने भन्दै अभिभावक शिक्षा मार्फत घरमा समेत जंङ्कफुड उपभोग नगर्न आग्रह गरेको विद्यालयले जनाएका छ । समय समयमा वस्ने अभिभावक भेलाहरुमा जंङ्कफुडलाई एजेण्डाको रुपमा छलफल गर्दै आएको प्रधानाध्याक आचार्यको भनाई छ । अधिकांश अभिभावकले आफ्ना छोराछोरीलाई घरमा पनि जंङ्कफुड खान नदिएको भन्ने जानकारी पाएका छौ प्रधानाध्यापक आचार्यले भनिन ।

२०१६ सालमा स्थापना भएको जिल्लाकै एक पुरानो मानिने सो विद्यालयले पछिल्ला दिनमा गरेको शैक्षिक सुधारका कामलाई आफुहरुले सकारात्मक ढंगले लिएको रोल्पा नगरपालिका २ का वडाध्यक्ष खिमवहादुर घर्तीले प्रतिकृया दिए । जिल्लाकै पुरानो विद्यालयको रुपमा रहे पनि विद्यालय शिक्षाको अवस्था सन्तोषजनक नभएपछि अभिभावकहरु असन्तुष्ट रहदै आएका थिए । विद्यालय समुदाय र स्थानीय तहको समन्वयमा विद्यालय सुधारको प्रयास थालनी गरिएको छ वडाध्यक्ष घर्तीले भने ।

समुदाय तहवाट विद्यालय सुधारका लागि अभियान थालनी गरिएको विद्यालय सुधार अभियान्ता चन्द्रवहादुर घर्तीमगरले वताए । पूर्व विद्यार्थीहरुको भेला मार्फत विद्यालय सुधारका लागि श्रोत जुटाउने काम थालनी गरेका छौ घर्तीले भने । पहिलो चरणमा विद्यालयको अक्षयकोष स्थापनाका लागि रकम संकलन गर्ने काम भईरहेको घर्तीले जानकारी दिए । हाल अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएर काम थालनी गरेका छौ घर्तीले भने । पहिलो चरणमा विद्यालयको नाममा १० लाख रुपैयाँ संकलन गरि अक्षयकोष स्थापना गछौ घर्तीले भने । समुदायको कृयाशीलता विना समुदायिक विद्यालय सुधार हुन नसक्ने देखिएकाले स्वयमसेवी ढंगले विद्यालय सुधार अभियानका लागेको स्थानीय अभिभावकहरुले वताएका छन ।