राष्ट्रपति भण्डारी स्वदेश फिर्ता


नेपाल समाचारपत्र, काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारी खाडी मुलुक कतारको ४ दिने औपचारिक भ्रमण पुरा गरी बिहीबार साँझ स्वदेश फर्कनु भएको छ ।
यही भ्रमणका क्रममा नेपाल–कतारबीच विविध विषयमा सम्झौता भएको छ । कतारी अमिर शेख तमिम बीन हमाद अल थानीसँगको शिष्टाचार भेटर्वाताका क्रममा राष्ट्रपति भण्डारीले नेपाली कामदारको सुरक्षा र कतारी लगानी लगानी नेपाल भित्र्याउने बारेमा छलफल गर्नु भएको छ ।

साथै नेपाली कामदार, लगानी, कृषि, पर्यटन जस्ता क्षेत्रमा सहकार्य गर्ने विषयमा दुवै मुलुक वीच सम्झौता भएको छ । दुवै मुलुकका कुटनितिक राहदानी बाहकका लागि प्रवेशाज्ञा आवश्यक नपर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ भने कृषि तथा खाद्य सुरक्षामा सहयोग आदान प्रदान गर्ने विषयमा पनि सम्झौता भएको छ ।

राष्ट्रपति भण्डारी र कतारी अमिर अल थानीको उपस्तिथीमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र उहाँका कतारी समकक्षी शेख मोहम्मद विन अब्दुल रहमान अल थानीले यस्ता विषयमा हस्ताक्षर गर्नु भएको हो । यससँगै कतारले नेपाली कामदारलाई सीपमुलक तालिम प्रदान गरी आफ्नो मुलुकमा रोजगारका अवसर प्रदान गर्न नेपालमा आफ्नो कार्यालय खोल्ने भएको छ । कतारमा वर्षेनी नेपाली श्रमिको संख्या बढ्दै गएपछि नेपाली श्रमिकको छनोट, स्वास्थ्य परीक्षण र बीमालगायत एकीकृत सेवा प्रदान गर्न यस्तो कार्यालय स्थापना हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री ज्ञवाली र त्यहाँका प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिलामन्त्री इशा बिन साद अल जफाली अल नुआइमीबीच सो विषयमा छलफल भएको थियो । नेपाली श्रमिकका सुरक्षाका विषयमा त्यहाँका अधिकारीहरुसँग सकारात्मक छलफल भएको मन्त्री ज्ञवालीको भनाई छ ।

राष्ट्रपति भण्डारी चार दिने औपचारिक भ्रमणका लागि गत सोमबार कतार पुग्नु भएको थियो । राष्ट्रपति भण्डारीले कतार च्याम्बरले आयोजना गरेको नेपाल कतार ब्यापार फोरममा सम्बोधन गर्दै त्यहाँका व्यवसायीलाई नेपालमा लगानी बढाउन आग्रह गर्नु भएको थियो ।