भक्तपुरमा आज आगमको गुप्ती पूजा हुँदै


भक्तपुर । भक्तपुरको गछेँस्थित नवदुर्गामा आज आगमको गुप्ती पूजा हुँदैछ । कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखबाट नवदुर्गाको पूजा अर्चना भएपछि कात्तिक महिनामा यस्तो पूजा हुन्छ ।

नवदुर्गा देवताकागण नारायण वनमालाका अनुसार कात्तिकमा सात पटक यो पूजा हुन्छ । गुप्ती पूजालाई नवदुर्गाको महत्वको पूजा अर्चना मानिन्छ । नवदुर्गासँगै महालक्ष्मीको पनि पूजा हुने भएकोले बडादशैँको कोजाग्रत पूर्णिमापछि गुप्तीपूजामा महालक्ष्मीको पनि आराधना हुन्छ ।

यो पूजाका लागि सङ्कल्प र भाकल गर्नेको गछेँमा निकै जमघट रहेको महाकाली नाचका मूलनाइके तुल्सीनारायण दण्डेख्याले जानकारी दिनुभयो । यो पूजा सम्पन्नपछि पुस १ गते भक्तपुर तलेजुमा नवदुर्गा नाच हुन्छ भने पुस २ गते काठमाडौँकोे जयवागेश्वरीमा नाच हुन्छ । यही क्रमअनुसार झण्डै ११ महिना नवदुर्गा नाच साँखु, खड्पु वनेपा नाला लगायतका स्थानमा देखाइन्छ ।