गोरखापत्रको महाप्रबन्धक हटाउने निर्णय कार्यान्वयन नगर्नू


काठमाडौं, (नेस)
गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बुधबार उपाध्यायलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

सो आदेश संगै सरकारको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । यसअघि उपाध्यायलाई वर्तमान सरकार गठन भएलगत्तै पदबाट वर्खास्ती गरिएको थियो । सरकारको निर्णय उपाध्याय सर्वोच्च पुग्नुभएको थियो । लगत्तै सर्वोच्चले गत असार २९ गते उपाध्यायलाई पुनर्बहाली गरेको थियो । त्यसपछि जिम्मेवारीमा फर्केका उपाध्यायलाई पुनः गत आइतबार हटाउने निर्णय गरिएको थियो । उपाध्यायले कार्तिक १३ गते मन्त्रीपरिषद् प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई विपक्षि बनाई रिट दर्ता गराउनुभएको थियो ।