कञ्चनपुरका गाउँ–गाउँमा करदाता शिक्षा कार्यक्रम


महेन्द्रनगर, (नेस)
भीमदत्त नगरपालिका– ८ तिलौचारमा करदाता शिक्षा अभिमुखीकरण कार्यक्रम गरिएको छ । करदाता शिक्षा कार्यक्रमअन्तर्गत स्थानीय बासिन्दालाई कर सम्बन्धी सचेतना जगाउन कार्यक्रम गरिएको छ ।

वडा नम्बर ८ को वडा कार्यालयमा गरिएको कार्यक्रममा जनप्रतिनिधि, शिक्षण संस्था, सहकारी संस्था, व्यवसायीलगायतका सहभागी भएका छन् । वडा अध्यक्ष ध्वज बहादुर विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा भीनपा राजश्व परामर्श समितिका सदस्य हिमाल बहादुर चन्दले नगर बासिन्दालाई कर सम्बन्धी सचेत गराउन करदाता शिक्षा कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

नयाँ संरचनाअनुसार स्थानीय तहले केन्द्रीय सरकारले कर संकलन गर्दै आएका केही स्रोतका समेत संकलन गर्ने अधिकार पाएको छ । तत्कालीन जिल्ला विकास समितिले संकलन गर्दै आएको रोयल्टी कर र घर बहाल कर संकलन अधिकार स्थानीय तहलाई दिइएको छ ।

भीनपा नगर प्रमुख सुरेन्द्र विष्टले उत्तरी क्षेत्रमा भ्यँ टावर, भम्केनी धाम विकास, झिलमिली ताल संरक्षण लगायतका कार्यक्रम अघि बढाएकोमा खुशी व्यक्त गर्दै उहाँले स्थानीय सबैले साथ दिने बताउनुभयो ।