दशैं अघि नै उखुको भुक्तानी दिन किसानको दबाब


नेपाल समाचारपत्र, सर्लाही
उखु किसानले दशैं अघि नै उखुको भुक्तानी दिन उद्योग र सरकारसँग माग गरेका छन् ।

उखुको भुक्तानी नपाउँदा दशैं नै मनाउन नपाउने अवस्था आएको भन्दै छिटोभन्दा छिटो उखुको भुक्तानी गर्न उखु किसानले पत्रकार सम्मेलन मार्फत माग गरेका हुन् ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनाली, नेपाल उखु उत्पादक किसान संघका अध्यक्ष राजकुमार उप्रेती, किसान हकहित संरक्षण समितिका अध्यक्ष कोकिलानन्द उप्रेती र मिलगेट उखु उत्पादक समितिका अध्यक्ष वेदबहादुर बुढाथोकीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अविलम्ब किसानले बिक्री गरेको उखुको भुक्तानी पाउने व्यवस्था गर्न जोडदार माग गरेका हुन् ।

दशैं, तिहार र छठ जस्तो महान पर्वमा समेत सरकारले उखुको भुक्तानी नगरेर उखु किसानमाथि घोर अन्याय गरेको छ । सरकारका कर्मचारी, मन्त्रीले दशैंमा बोनस खान्छन्, हामी किसानले भने पसिना बगाएर उत्पादन गरेको उखु बेचेको महिनौं हुँदासम्म भुक्तानी नदिएर किसानलाई भोक भोकै मार्ने खेल खेलेको उखु किसानले आरोप लगाएका छन् ।

उनीहरुले भदौ २२ गते नै प्रधानमन्त्री केपी शर्मासँग भएको छलफलका क्रममा प्रधानमन्त्रीले १५ दिनभित्र उखुको भुक्तानी दिन निर्देशन दिएको भए पनि आफँहरुले त्यो अझै नपाएको किसानको गुनासो छ ।

अब कात्र्तिक उखु लगाउने सिजन आयो, हामी अन्योलमा छौं, पहिलेकै उखुको भुक्तानी पाएको छैनौं, अब उखु रोप्ने कि नरोप्ने भनेर नेपाल उखु उत्पादक किसान संघका अध्यक्ष राजकुमार उप्रेतीले भन्नुभयो ।

त्यस्तै अब के गर्ने भन्ने प्रश्नमा नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले भन्नुभयो –‘अब हाम्रो अन्तिम उपाय भनेकै सडक आन्दोलन हो । हामी चरणबद्ध आन्दोलनमा जान्छौं ।’