नेपालसँग थाइल्यान्ड १ सय ४० रनले पराजित


काठमाडौँ । आईसिसी टीट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनोटअन्तर्गत उप क्षेत्रीय प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई डकवर्थ लुइस नियम आधारमा एक सय ४० रनले हराएको छ।

एक सय ७३ रनको लक्ष्य पछ्याएको थाइल्यान्डले ८ ओभर पाँच बलमा ९ विकेट गुमाएर १८ रन जोडेपछि खेल वर्षाले प्रभावित भएको थियो। त्यसपछि खेल सुचारु हुन सकेन। टीट्वेन्टी स्वरुपको अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो सम्भवत सबैभन्दा फराकिलो (रन अन्तरले) जित हो।

थाइल्यान्डविरुद्ध नेपालका सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए। करन केसीले तीन र ललित भन्डारीले एक विकेट हात पारे। थाइल्यान्ड पहिलो ओभरदेखि नै दबाबमा आएको थियो।

थाइल्यान्डले एक रनमै दुई विकेट गुमाएको थियो। सन्दीप लामिछानेले  पाँच तथा करन केसी र ललित भन्डारीले एक विकेट लिए। ललितले पहिलो तथा सन्दीपले दोस्रो र चौथो ओभरमा एक एक तथा  नवौँ ओभरमा तीन विकेट हात पारे।

सातौँ ओभरमा बलिङमा आएका करनले पहिलो ओभरमा  एक रन दिएर एक विकेट हात पारे। उनले दोस्रो ओभरमा एक रन खर्चिए दुई विकेट हात पारे।   सन्दीपले तीन ओभरमा ८ रन खर्चिए। सन्दीपले लगातार दोस्रो खेलमा पाँच विकेट लिएका हुन्। प्रतियोगितामा सन्दीपले तीन खेलमा १४ विकेट लिईसकेका छन्।

यसअघि टस हारेपछि ब्याटिङको निम्ता पाएको नेपालले निर्धारित २०  ओभरमा ७ विकेट गुमाएर  एक सय ७२  रन जोड्यो। नेपालको पालीमा दीपेन्द्रसिंह एेरीले ३०,शरद भेषावकरले ३४ र करन केसीले अविजित ४० रन बनाए। ओपनरद्धय विनोद भन्डारी १५ र अनिल शाहले २५ रन बनाए।

नेपालले ३३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। १२ ओभरमा दुई विकेट गुमाएर ९९ रन जोडेको नेपाल त्यसपछि केही समय दबाबमा आएको थियो।

आठौँ नम्बरमा ब्याटिङमा आएका करनले विस्फोटक ब्याटिङ गरे। उनले १४ बलमा चार छक्का र दुई चौकासहित अविजित ४० रन बनाए। नेपालले अन्तिम ओभरमा २४ रन जोडेको थियो।

सोमपालले पहिलो बलमा दुई रन र दोस्रो बलमा एक रन जोडेर करनलाई स्ट्राइक दिएका थिए। त्यसपछि करनले लगातार तीन बलमा छक्का र अन्तिम बलमा तीन रन जोडेका थिए। करनले १९ औँ ओभरमा एक्लैले १४ रन जोडेका थिए। १८ ओभरको समाप्तीमा करन चार बल खेलेर सात रनमा थिए। आरिफ शेख ८, कप्तान पारस खड्का पाँच र ज्ञानेन्द्र मल्ल  सात रनमा आउट भएपछि नेपालले मध्यम लक्ष्य प्रस्तुत गर्ने अनुमान गरिएको थियो। अलराउन्ड प्रदर्शन गरेका करन प्लेयर अफ दी म्याच भए।

नेपालले यसअघिका दुवै खेल जितेको थियो। पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपाल दोस्रोमा मलेसियाविरुद्ध ८ विकेटले विजयी भएको थियो। नेपाल तीन खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको सिंगापुरले पनि तीन खेलबाट ६ अंक जोडेको छ।

थाइल्यान्डको चार खेलबाट पाँच अंक छ।