कुलमानले पाए ‘बेष्ट पर्सनालिटी अफ दिीइयर’ अवार्ड


 

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘बेष्ट पर्सनालिटी अफ दि इयर’ अवार्ड पाएका छन् ।

रेडियो, टेलिभिजन लगायतका सञ्चार माध्यम सञ्चालन गर्दै आएको इमेज ग्रुप अफ कम्पनीजले शनिबार राजधानीमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक घिसिङलाई ‘बेष्ट पर्सनालिटी अफ दि इयर’ अवार्डबाट सम्मान गरेको हो ।

कम्पनीले ऊर्जा क्षेत्रमा अतुलनीय योगदान दिएर नेपाललाई कहालीलाग्दो लोडसेडिङबाट मुक्त गरेको भन्दै कम्पनीले घिसिङलाई सम्मानित गरिएको जनाएको छ ।

दुई वर्ष अघि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको कहालीलाग्दो लोडसेडिङको अन्त्य गरेका थिए । २०७५ सालको वैशाखबाट मुलुक लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो ।

उनकै नेतृत्वमा आर्थिक वर्ष आर्थिक वर्ष २०७२÷७३ मा ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण आव २०७३÷७ ४मा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो । आव ०७४÷७५ मा प्राधिकरणको नाफा १ अर्ब १ करोड आर्जन हुने प्रक्षेपण गरिएको छ, सञ्चालन नाफा ७ अर्ब ८६ करोड रहेकाले अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि खुद वार्षिक नाफा हाल प्रक्षेपितभन्दा अझै बढ्ने अनुमान गरिएको छ ।

घिसिङकै नेतृत्वमा गत आवमा विद्युत् चुहावट २०.४५ प्रतिशतमा सीमित भएको छ, जुन प्राधिकरणको इतिहासमा सवैभन्दा कम चुहावट हो । जसमध्ये प्रसारण र वितरण प्रणालीमा भएको चुहावट क्रमशःकरिव ५.५ प्रतिशत र करिब १४.५प्रतिशत रहेको छ । चालू आवमा विद्युत् चुहावटलाई १८.५प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ ।

प्राधिकरणले निर्माण गरिरहेका जलविद्युत तथा प्रसारण लाइन आयोजनाका कामले पनि तीव्रता पाएको छ ।