यतीकोे एटीआरद्वारा पोखरा–काठमाडौं उडान शुरु


नेपाल समाचारपत्र, काठमाडौं
यती एयरलाइन्सले पछिल्लोपटक ल्याएको ७२ सिट क्षमताको एटीआर ७२–५०० जहाजबाट बुधबारदेखि काठमाडौं–पोखरा–काठमाडौं रुटमा उडानको तालिका बनाएको छ ।

यतीका सञ्चार अधिकृत भीमराज राईका अनुसार बुधबारदेखि दैनिक दुईवटा उडान एटीआर ७२–५०० बाट गर्ने तालिका बनाएको छ । उनले यात्रुको माग अनुसार उडान थप्न सकिने बताउनुभयो । एटीआर बाहेक यतीले ३० सिट क्षमताको जेटस्ट्रिम ४१ जहाजबाट पनि अरु उडान गर्नेछ । एटीआर बाहेक यतीले काठमाडौं–पोखरा–काठमाडौं रुटमा दैनिक १२ वटासम्म उडान तालिका बने पनि १० वटासम्म उडान नियमित रुपमा भइरहेको उहाँले बताउनुभयो ।

७२ सिट भए पनि पोखरा विमानस्थलको धावनमार्ग कम भएकाले पँर्ण क्षमतामा भने यात्रु बोक्न सक्ने छैन । बढीमा ६० जना यात्रु, एउटा उडानबाट आउजाउ गर्ने गरी हालका लागि उडान थाल्ने राईले बताउनुभयो ।‘शुरुवात ६० जना यात्रु बोकेर गर्ने हो,’ उहाँले भन्नुभयो । राईका अनुसार यतीले हालका लागि एटीआर ७२ को दैनिक दुई उडान पोखराका लागि राखेको छ ।

हरेक दिन बिहान साढे ७ र ९ बजे उडान गर्ने तालिका तय गरेको उहाँले बताउनुभयो ।पोखरा विमानस्थलको धावनमार्ग एक हजार चार सय ४७ मिटर छ । धावनमार्ग छोटो हुनाले एटीआर ७२ ले पँरा यात्रु क्षमतामा यात्रु बोक्न सक्दैन । मौसम चिसो भएको बेला बढी भार बोक्न सक्छ ।