वनमा फेरी पनि वाम बाहुल्य


टीका बन्धन, काठमाडौं
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफोन)मा फेरी पनि वाम बाहुल्य नेतृत्व निर्वाचित भएको छ । काठमाडौंमा सम्पन्न छैंठौ महाधिवेशनबाट दुई तिहाई भन्दा बढी पदाधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका चुनिएका छन् ।

फेकोफोनको करिव अढाई दशक लामो इतिहासमा नेपाली काँग्रेस निकटका वनकर्मीले अहिलेसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएका छैनन् । यसपटक उपाध्यक्ष भीम प्रकाश खड्का बाहेक केन्द्रका सबै महत्वर्पूण जिम्मेवारीमा नेकपा समर्थित पदाधिकारी निर्वाचित भएका छन् । छैठौ महाधिवेशनले निर्वतमान महासचिव भारती पाठकलाई सर्वसम्मत् रुपमा अध्यक्षमा चयन गरेको छ भने बहुसंख्यक केन्द्रिय पदाधिकारी पनि निर्विरोध निर्वाचित भएका छन् ।

महासचिव, सचिव, कोषाध्यक्षमा क्रमश : बिर्खबहादुर शाही, ठाकुर भण्डारी र पार्वता गौतम चयन हुनु भएको छ । महाधिवेशनले ८८ जना केन्द्रिय चयन गरेकोमा काँग्रेस समर्थित १६ जना मात्रै केन्द्रमा चुनिएका छन् । देशभरीबाट ८ सय भन्दा बढी प्रतिनिधी सहभागी महाधिवेशनमा काँग्रेस समर्थक ६५ जना मात्रै सहभागी भए । बुधवार काठमाडौंमा सम्पन्न अधिवेशनले आगामी ४ वर्षे कार्यकालका लागि नयाँ पदाधिकारी चयन गरेको हो ।

गत वर्षको असोजमा चुनावी तालमेल गर्दै तत्कालिन एमाले र माओवादीको एकीकरण पश्चात वाम बाहुल्य जमघट बढेपनि फोकोफोनमा भने वषौदेखि वाम प्रभाव रहँदै आएको थियो । फेकोफोनको पहिलो निर्वाचित कार्यसमिति २०५२–५७ देखि नै तत्कालिन नेकपा एमाले समर्थक वनकर्मीले केन्द्रको नेतृत्व लिदै आएका छन् । दोस्रो र तेस्रो कार्यसमितिमा काँग्रेस निकटका भोला भट्टराई महासचिवको जिम्मेवारीमा रहनु भएको थियो भने त्यसयता चौथो र पाँचौ कार्यसमितिमा उपाध्यक्ष रहनु भएका खड्का अहिले पुनः सोही जिम्मेवारीमा दोहोरिनु भएको छ ।

पाँचौं महाधिवेशनमा करिव ७ सय प्रतिनिधी रहेकामा सो बेला पनि काँग्रेस निकट प्रतिनिधी २ दर्जनका हाराहारीमा रहेको फेकोफोनको तथ्यांक छ । वनको समुहगत अभ्यासमा चासो लिएपनि वनसँग जोडेर कार्यकर्तालाई संगठित गर्न नसक्दा काँग्रेस सँधै कमजोर बन्ने गरेको नेपाल वन प्राविधिक संघका पूर्व महासचिव सुवास देवकोटा बताउनुहुन्छ । ‘जसरी पार्टीगत संगठन सुदृढिकरणमा काँग्रेस गम्भिर छैन, समुहगत अभ्यासमा पनि उसको अवस्था उस्तै हुँदा फेकोफोनमा उसको सशक्त प्रतिनिधित्व हुन सकेको छैन’–उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

फेकोफोनको पहिलो कार्यसमिति २०५२–५६मा एमाले निकटका हरि प्रसाद न्यौपाने अध्यक्ष रहनु भएको थियो भने दोस्रो, तेस्रो, चौथो र पाँचौ कार्यसमितिमा पनि सोही पार्टी समर्थक अध्यक्ष बन्नु भएको थियो ।

भीमप्रसाद श्रेष्ठ, धनश्याम पाण्डे, अप्सरा चापागाईँ र गणेश बहादुर कार्कीले क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ अधिवेशनपछि अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको छ । छैठौ महाधिवेशनको नेतृत्व चयन चरण प्रकृयामा काँग्रेसले विभिन्न ७ वटा जिल्लाको मात्रै नेतृत्व लिने अवसर पाएको छ ।

सो पार्टीले बैतडी, डडेलधुरा, दाङ, धादिङ, नुवाकोट, ओखलढुंगा र सोलुखुम्बुमा मात्रै फेकोफोनको नेतृत्व लिएको छ । संगठन सुदृढिकरणमा तत्कालिन एमाले र अन्य वामदलको जस्तो लगाव नहुँदा काँग्रेस सामुदायिक वन र अन्य समुहगत अभ्यासमा पनि कमजोर बनेको महासंघका निर्वतमान अध्यक्ष गणेशबहादुर कार्कीको ठहर छ ।

२०३० सालमा सिन्धुपाल्चोकको ठोकर्पा वनलाई सामुदायिक शैलीमा संरक्षण शुरु गरेपछि नेपालमा यस्तो अभ्यास शुरु भएपनि महासंघ २०५२मा स्थापना भएको हो ।

पछिल्लो तथ्यांक अनुसार मुलुकभर २२ हजार २ सय ६६ सामुदायिक वन छन् । मुलुकको कूल वन क्षेत्रको ३३ प्रतिशत भेग सामुदायिक वनले ओगटेको र यो अभ्यासमा २९ लाख ७ हजार ८ सय ७१ घरधुरी प्रत्यक्ष÷अप्रत्यक्ष आवद्ध भएका वन तथा भू–संरक्षण विभागको तथ्यांक छ । सामुदायिक वन अभ्याससँग जोडिएको सबल संगठनको राम्रो लाभ नेकपाले गत वर्षको स्थानीय तहको निर्वाचनमा पनि लिएको छ ।

नगरपालिकामा १५ मेयर, २६ उप–मेयर, १ सय ५४ वडाध्यक्ष र १ सय ९० सदस्य सामुदायिक वन पृष्ठभूमिबाट निर्वाचित भएका छन् । त्यसैगरी गाउँपालिका तर्फ ३ सय ७९ जना विभिन्न तहको जिम्मेवारीमा रहेका छन् । १५ जना गाउँपालिका अध्यक्ष, २३ उपाध्यक्ष, १ सय २५ वडाध्यक्ष र २ सय १६ वडा सदस्य वन पृष्ठभूमिबाट निर्वाचित भएका छन् ।

वडाध्यक्ष बाहेक माथिल्लो तहमा काँग्रेसको प्रतिनिधित्व नरहेको र निर्वाचित मध्ये ९५ प्रतिशत भन्दा बढी नेकपा समर्थक रहेको महासंघको दावी छ ।