पाकिस्तानी मेला शुरु


नेपाल समाचारपत्र, काठमाडौं
पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी काठमाडौंमा शुरु भएको छ । त्रिपुरेश्वरस्थित युनाइटेड वल्ड सेन्टरमा एक साता लामो ‘मेड इन पाकिस्तान, सार्क एडिसन’ मेला शुरु भएको हो ।

नेपालका लागि पाकिस्तानी राजदूत डा. मजार जावेद र नेपाल–पाकिस्तान मैत्री संगठनका अध्यक्ष हिमालयशम्शेर राणाले बुधवार संयुक्तरुपमा सो मेला शुभारम्भ गर्नुभयो । सो अवसरमा राजदूत जावेदले यस्तो मेला र प्रर्दशनीले दुवै मुलुकका व्यवसायीलाई नजिक्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । विगत ६ दशकयताको द्धिपक्षीय सम्बन्ध बलियो बनाउन प्रदर्शनी उपलब्धी मुलक हुने अध्यक्ष राणाको भनाई थियो ।

मेलामा फर्निचर, छालाका, हस्तकला, लत्ताकपडा, नक्कली गरगहना लगायतका सामग्री उपलब्ध छन् । पाकिस्तानको रावलपिन्डी उद्योग वाणिज्य संघको अगुवाई र काठमाडौंस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दूतावासको सहकार्यमा काठमाडौंमा विगत एक दशकयता हरेक वर्ष यस्तो प्रदर्शनी हुँदै आएको छ ।