टनेल बनाउने कृषकलाई प्लास्टिक निशुल्क


नेपाल समाचारपत्र, पर्वत
बेमौसमी तरकारी खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न पर्वतको फलेबास नगरपालिकाले प्लाष्टिक घर( टनेल) बनाउने कृषकलाई प्लाष्टिक निशुल्क वितरण गरेको छ ।

बेमौसमी तरकारी खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न टनेलका लागि घर तयार भएपछि आवश्यक पर्ने प्लाष्टिक निशुल्क दिन थालेको हो । यस अघि कृषकलाई बिभिन्न संस्था र कार्यालयले ५० प्रतिशत अनुदानमा प्लाष्टिक वितरण गर्दै आएका थिए ।

फलेबास नगरपालिकाले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७४÷०७५ मा १ सय ७० जना कृषकलाई अनुदान दिइएको छ । ‘एक जना कृषकले प्लाष्टिक घरमा खेती गर्न चाहेमा घर बनाउन चाहिने प्लाष्टिक पुरै अनुदानमा वितरण ग¥यौ’ नगर कृषि शाखाका प्रमुख नारायण पौडेलले भन्नुभयो ‘अहिले सम्म कृषकलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिक बितरण हुँदै आएकोमा यसले धेरै राहत दिएको छ’

व्यावसायिक रुपमा तरकारी खेती गर्न चाहने कृषकहरु अनुदानबाट सबैभन्दा बढी लाभान्वित भएको फलेबास नगरपालिका प्रमुख पदमपाणी शर्माले बताउनुभयो । कृषकले जाँगर देखाउँछ र घर बनाउँछ भने प्लाष्टिक पुरै अनुदानमा दिदा धेरै प्रोत्साहन मिलेनको अनुभव उहाँले सुनाउनुभयो । ‘खेती नगर्नेलाई अनुदान दिँदा दुरुपयोगको खतरा हुन्छ’ उहाँले भन्नुभयो ‘प्लाष्टिक घर बनाएपछि अनुदान दिँदा ब्यबसायिक बन्न सहयोग पुग्दोरहेछ’ नगरपालिकाले गएको आर्थिक बर्षमा मात्रै १० लाख भन्दा बढी बजेट प्लाष्टिक टनेल खरिदमा खर्च गरेको छ ।

यस आर्थिक बर्षमा पनि कृषि क्षेत्रमा खर्च गर्ने गरि ६५ लाख रुपैया बजेट विनियोजन गरिएको छ । बिनियोजित बजेटबाट साना सिंचाई, यान्त्रिकरण, टनेल, बिरुवा, बिउ खरिद गर्ने लक्ष्य रहेको कृषि शाखा प्रमुख पौडेलले जानकारी दिनुभयो । गत बर्ष जति धेरै कृषकलाई समेट्न नसकेपनि यस बर्ष समेत घर बनाउने कृषकलाई अनुदान दिने योजना रहेको उहाँले बताउनुभयो ।

यसैगरी गएको आर्थिक बर्षमा ५ सय जना कृषकलाई ८५ प्रतिशत अनुदानमा तरकारीको हाइब्रिड बीउ बितरण गरेको छ । तरकारी कृषकलाई टनेल र हाइब्रीड बीउ बितरण गरेपछि व्यावसायिक बनाउन सहयोग पुगेको नगरपालिकाले जनाएको छ ।