जलजलामा पर्यटकीय गतिविधि बढाउन पालिकाले कदम चाल्यो


नेपाल समाचारपत्र, पर्वत
स्थानीयस्तरमा भएका पर्यटकीय स्थलको प्रवद्र्धनमा जलजला गाउँपालिका जुटेको छ । गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेका सबै पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरी पर्यटक भित्र्याउनका लागि पहल शुरु गरेको हो ।

पहिलो चरणमा गाउँपालिकाले पर्वतको बेनीदेखि हम्पालको लेकसम्मको पर्यटकीय पदमार्गको पहिचान गर्न थालेको छ । यो पदमार्गभित्र पर्ने पर्यटकीय तथा धार्मिक महत्वका स्थललाई पदमार्गभित्र समेट्ने गरी काम शुरु गरेको जलजला गाउँपालिकाका प्रवक्ता एवम पँर्वाधार समितिका संयोजक देवेन्द्रबहादुर भण्डारी (रवि) ले जानकारी दिनुभयो ।

जलजला गाउँपालिकाभित्र धेरै पर्यटकीय तथा धार्मिक महत्वका स्थल रहेको र त्यसको व्यवस्थित प्रचारप्रसार र आकर्षक भौतिक संरचनाको सम्भाव्यता अध्ययन शुरु गरेको उहाँले बताउनुभयोे । ‘हाम्रो पालिकाभित्र धेरै पर्यटकीय र धार्मिक महत्वका स्थल रहेका छन्, त्यहाँ वर्षेनी हजारौं पर्यटक भित्र्याउन सकिने सम्भावना पनि छ, त्यसैले गाउँपालिकाले पहिलो चरणमा पर्वत बेनीदेखि हम्पालको लेकसम्मको पदमार्ग र त्यस पदमार्गभित्र वरपर रहेका पर्यटकीय तथा धार्मिक क्षेत्रलाई समेटेर अगाडि बढ्ने तयारी गरेको छ,’ भण्डारीले भन्नुभयो ।

गाउँपालिकाले गण्डकी प्रदेश पर्यटन मन्त्रालयको पहलमा भँगर्भविद्सहितको प्राविधिक टोली लिएर पर्वत बेनीदेखि मल्लाज, पँर्णगाउँ, सर्सकुमाई, गिद्धेश्वर, दीपको बराहताल, तारे, सिर्कु, कालाञ्जर पर्वत हुँदै हम्पालको लेकसम्मको पदमार्गको सम्भाव्यता अध्ययन गरेको छ । यो रुटमा एक दर्जनबढी पर्यटकीय र धार्मिकस्थल पर्छन् । घुम्न आउने पर्यटकलाई प्याकेजका रुपमा पर्वत बेनीदेखि ती सबै ठाउँको अवलोकन गराएर हम्पालको लेकसम्मको यात्रा गराउन सकिने भण्डारी बताउँछन् ।

पर्वत बेनीबाट शुरु भएको यात्रा दरबार, भगवती कोट, जलजला–४ को गुफा, सर्सकुमाईस्थित ऋषिहरुले तपस्या गरेको स्थान, सालिजाको दीपस्थित बराहतालहरुको अवलोकन गराउँदै हम्पाल पुग्न सकिन्छ । हम्पालबाट फर्केपछि जलजला गाउँपालिका– ५ स्थित फलामेडाँडामा भ्युटावर अवलोकन गराउने गाउँपालिकाको योजना रहेको छ ।

‘फलामेडाँडामा भ्युटावर उपयुक्त रहेको सम्भाव्यता अध्ययनका लागि आएको प्राविधिक टोलीले पनि उपयुक्त भनेको छ, फलामेडाँडामा भ्यँटावर बनाउने प्रक्रिया अगाडि बढ्छ,’ गाउँपालिकाका प्रवक्ता भण्डारीले भन्नुभयो ।

हम्पाल गएर फर्केका पर्यटकलाई भ्युटावरबाट चाँदीजस्तै टल्किएका सेताम्य हिमश्रृङ्खलाको अवलोकन गराउने योजना रहेको उहाँले सुनाए । फलामेडाँडा पर्यटकका लागि अहिले पनि सुन्दर ठाउँ हो । जस्तो गर्मीमा पनि शितलो बतास चल्ने भएका कारण गर्मी छल्नका लागि पनि यहाँ बेशीका मानिस जाने गर्छन् । त्यहाँबाट डाँडाकटेरीको होमस्टेको अवलोकन र बासपछि पर्यटकहरु बेनी फर्किने वा त्यहाँबाट घोडेपानी जान सक्छन् । गाउँपालिकाले हम्पालको लेकमा ठुलो ताल बनाउने योजना बनाएको छ ।

तीन हजार तीन सय मिटर उचाईमा रहेको यो ठाउँमा झण्डै १२ हेक्टर क्षेत्रफलमा समथर जमिन रहेको छ । त्यहाँ जमिनबाट निस्केको पानीले पुरै जमिन लचकदार रहेको छ । यो ठाउँमा ताल निर्माण भएमा अन्नपँर्ण पदमार्गमा आउने अधिकांश पर्यटक जलजलाको कालाञ्जर पर्वत पुग्ने गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लको विश्वास छ । ‘समग्र जलजलाको पर्यटन प्रवद्र्धन र यहाँ बढीभन्दा बढी पर्यटक भित्र्याउनका लागि गाउँपालिकाले सम्भाव्यता अध्ययन अगाडि बढाएको छ,’ उहाँले भन्नुभयो ।