प्रादेशिक पुँजी बजार प्रदर्शनी हुँदै


विराटनगर, (नेस)
नेपालमै पहिलो प्रादेशिक पुँजी बजार प्रदर्शनी विराटनगरमा आयोजना हुने भएको छ । विश्व लगानीकर्ता सप्ताहको अवसर पारेर असोज १९ र २० गते प्रादेशिक पुँजी बजार प्रदर्शनी आयोजनागर्न लागिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले नेपालमै पहिलोपटक शेयर जारी गर्ने विराटनगर जुटमिल्स यहाँ रहेकाले उपत्यका बाहिर पुँजी बजार प्रदर्शनीका लागि विराटनगरलाई रोजेको जानकारी दिनुभयो । पुँजी बजारको प्रवद्र्धन र जनचेतना अभिवृद्धिका लागि प्रादेशिक पुँजी बजार प्रदर्शनी गर्न लागिएको उहाँले बताउनुभयो ।

स्थानीय जैन भवनमा आयोजना गरिने प्रदर्शनीमा धितोपत्रसँग सम्बन्धित १ सय २० स्टल रहने छन । प्रदर्शनीमा धितोपत्र व्यवसायी, मर्चेन्ट बैंकर, आस्बा सदस्य बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, निक्षेप सदस्यहरूलगायतको स्टल रहनेछ । औद्योगिक नगरी विराटनगरका उद्योगहरूलाई पनि पुँजी बजारमा आकर्षित गरी रियल सेक्टरलाई बजारमा भित्राउने उद्देश्य राखेको बोर्डले जनाएको छ । प्रदर्शनीमा विद्यार्थीहरू तथा शेयर बजारमा लगानी गर्न चाहनेहरूलाई लक्षित गरी शेयर बजारबारे आधारभँत तालिमसमेत दिने योजना बोर्डले बनाएको छ ।