पोली हाउस तर्फ कृषकको आकर्षण बढ्दै

0
Shares

किरन धामी, दार्चुला ।
पछिल्लो समय दार्चुलाका अधिकांश कृषकहरु पोली हाउसमा विभिन्न मौसमी तथा वेमौसमी तरकारी लगाइरहेका छन् । उत्पादनको हिसाबले खुल्ला रुपमा लगाएको तरकारी भन्दा पोली हाउस भित्र लगाएको तरकारीले बढी उत्पादन दिन थाले पछि कृषकहरुको पोली हाउस तर्फ आकर्षण बढेको हो ।

पोली हाउस भित्र लगाइएका तरकारीहरुको सामान्य भन्दा उत्पादन बढी हुने, बेमौसमी तरकारीहरु फलाउन सकिने, आधुनिक प्रविधि युक्त, सिचाई गर्न सजिलो हुने भएकाले पनि कृषकहरुले पोली हाउसमा तरकारी खेती गर्न रुचाएको जिल्लामा संचालित पहल कार्यक्रमका कार्यक्रम संयोजक कृष्ण सिंह ठगुन्नाले बताए । पोली हाउस भित्र उत्पादन राम्रो भएको देख्दा कृषकहरुको रुचि त्यसतर्फ बढेको उनले बताए ।

पहल कार्यक्रम अन्तरगत अहिले जिल्लाका साविकाका गाविसहरु भगवती, मालिकार्जुन, रिठाचौपता, बोहोरीगाउँ तथा खरकडा गाविसमा कृषि स्वास्थ्य तथा वैकल्पिक जिविकोपार्जन सम्बन्धि काम भैइरहेको छ । कार्यक्रम लागु भएका साविकाका गाविसहरुमा रहेका कृषक समुह मार्फत संस्थाले पोली हाउस तरकारी खेती, वेर्ना उत्पादन लगायतमा विभिन्न विउ उत्पादनमा सहयोग गरिरहेको छ ।

पहल कार्यक्रमले तरकारीको विउ तथा पोली हाउस सहयोग गरेपछि आफुहरु व्यवसायिक रुपमा तरकारी खेती तर्फ आर्कर्षित भएको कृषकहरुले बताएका छन् । कृषकहरुले अहिले पोली हाउसमा विषेश गरी गोलभेडा खेती गरिरहेका छन् । गाउँमै ५० रुपैयाँ प्रतिकिलो ग्रामका दरले गोेलभेडा विक्री हुन् थाले पछि मालिकार्जुन गाउँपालिका १ का भर्तोलाका प्रेम सिहं बोहरा हर्षित भएका छन् । पहल कार्यक्रमले खाद्य असुरक्षित साविकका गाविसहरुमा कृषि क्षेत्र सुधार, कृषि बजार प्रवद्र्धन, पोषण तथा सरसफाई, विपद् जोखिम व्यवस्थापन, प्राकृतिक श्रोत व्यवस्थापन, वैकल्पिक जिविकोपार्जन, बित्तीय सेवा लगायतका क्षेत्रमा काम गरीरहेको संस्थाले जनाएको छ ।