कृष्णउदास खनाल, वीरगन्ज
पर्सा सहित मधेशका विभिन्न जिल्लामा थारु समुदायका महिलाहरुले जितिया पर्व मनाइरहेका छन् । विशेष गरी थारु, मैथिलीभाषी र भोजपुरीभाषी महिलाहरुले निकै महत्वका साथ मनाउने यो पर्व मनाउने गर्दछन् ।
यो पर्वलाई तराई मधेशका तीज पनि भन्ने गरिएको छ । देशभरका मधेशी र थारु समुदायकी महिलाहरुका लागि पवित्र मानिने यो पर्व ३ दिनसम्म मनाउने गरिन्छ । मंगलबार बिहान सुर्य उदाउनु अघि नै नुहाइधुवाइ गरेर महिलाहरुले व्रत लिने गर्छन्। विशेष गरी आफ्नो सन्तानका लागि आमाहरुले यो पर्व मनाउँछन् । व्रत बस्नु अघिल्लो दिन सोमबार भने व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेलसहितका पदार्थ चढाउने गर्छन् ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका थिए ।त्यसैकारण त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक मान्यता छ । काठमाण्डौ उपत्यका सहित तराईका विभिन्न जिल्लाहरुमा मधेशी तथा थारु समुदायका महिलाहरुले जितिया पर्व निकै धुमधामका साथ यो पर्व मनाइरहेका छन् ।
सन्तानको दीघार्यु र सुस्वास्थ्यको कामना तथा शिशुलाई मृत्युबाट जोगाउन यो पर्व मनाउने परम्परा छ ।आश्विन कृष्णपक्षको सप्तमीदेखि सुरु हुने जितिया पर्व नवमीसम्म मनाउने गरिन्छ । उनीहरु जितियाँको अघिल्लो दिन नजिकको इनार, जलासयमा स्नान गरेर जितियाको सुरुवात गर्ने गर्दछन् ।मधेशी थारु समुदायका महिलाहरुले जितियाको अघिल्लो राति ओटघन (दर) खाई ब्रत बस्ने गर्दछन् । विशेष गरी यो दिन उनीहरु जितमहानको कथा सुन्ने गर्दछन् । जितिया पर्वमा जितमहानको कथा सुन्नलाई विवाहित महिलाहरु जाने गर्दछन् ।
जितमहानले गुफा भित्र छिर्ने र निस्कने खेलमा आफ्नो बुवाको नाम थाहा नपाउदा साथीहरुसँग पराजित भएर बुवालाई भेटन जाँदा सुर्य देवता साक्षात्कार भइ वरदान दिएको धार्मिक कथन रहेको छ ।











प्रतिक्रिया