६४ बर्ष पुरानो विमानस्थल परीक्षण उडानमै सिमित

0
Shares

नरेन्द्र केसी, दाङ ।
२०११ सालमा परीक्षण उठान गरी २०१६ सालदेखि नियमित उडान शुरु भएको दाङको टरिगाउँ विमानस्थलमा मंगलवार पुनः परीक्षण उडान गरिएको छ । पटकपटक परीक्षण उडान गर्दै स्थगित हुँदै आएको विमानस्थलमा पुनः तुलसीपुर उपमहानगरपालिकाका पहलमा परीक्षण उडान गरिएको छ ।

नेपाल एयरलाइन्सको जहाँजले मंगलवार पुनः सफल परिक्षण उडान गरेको छ । मंगलबार विहान ११ बजेर २० मिनेटमा नेपाल एअरलाइन्सको नाइनएनएकेयु विमान अवतरण भएको थियो । एयरलाइन्सले एयरपोर्टको धावनमार्ग, काठमान्डौबाट तुलसीपुरसम्म लाग्ने इन्धन खर्च, अकासको रुट, भौगोलिक अवस्था, संभावित जोखिमका विषयमा अध्यन गर्न परिक्षण उडान गरेको जनाएको छ ।
सो क्रमा प्राविधिक टोलीले टरीगाउँ एयरपोर्टमा जहाज अवतरण गर्न कुनै समस्या नभएको बताएका छन् । निजि विमान कम्पनीले धावन मार्ग, रुख विरुवा, अग्ला भौतिक संरचना, वायुको चाप र इन्धनको कारण देखाउदै नियमित उडान नगर्दा हवाई सेवा अनियमित बन्दै आएको थियो ।

निगमका प्राविधिकहरुले भने इन्धनको व्यवस्था र पाँच सय मिटर मैदान थप फराकिलो बनाएमा ३२ सिटे जहाँज पनि सजिलै बसाल्न सकिने बताएका छन् । ‘१० बर्ष अघि म यहाँ आउँदा घाँसे मैदान थियो, धुलो पनि उड्ने गथ्र्यो’– क्याप्टेन आङनुरी शेर्पाले भन्नुभयो– ‘अहिले त राम्रो भएको रहेछ ।’ तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र बिष्टको पालामा विमानस्थल कालोपत्रे गरिएको थियो ।

 

प्राविधिक टोलीले तुलसीपुर–काठमान्डौ आउन जान नौ सय ४८ लिटर इन्धन खर्च हुने भन्दै न्युनतम पैतीस सय रुपैयाँ सम्म भाडा निर्धारण गरे पनि निगमलाई कुनै घाटा नहुने बताएको छ । यसअघि निजी विमान कम्पनीले प्रतिव्यक्ति नौ हजार रुपैयाँसम्म भाडा लिएका थिए । एयराइन्सको विमानलाई काठमान्डौबाट तुलसीपुरको टरिगाउँँ एयरपोर्टमा आइपुग्न एक घन्टा १० मिनेट समय लाग्ने चालक दलका सदस्य मोनिका रञ्जितले बताउनुभयो ।

निगमका इन्जिनियर विशाल पौडेलका अनुसार टरीगाउँसहित जोमसोम, लुक्ला, रामेछाप, डोल्पा, जुम्ला, सिमिकोटमा सफल परिक्षण उडान गरिएको छ । यी सबै ठाउँमा प्राविधिक दृष्टिकोणले जहाँज बसाउन उपयुक्त भएको भन्दै इन्जिनियर पौडेलले फर्के लगत्तै प्रतिवेदन तयार पारेर बुझाउने बताउनुभयो ।

 

यसअघि २०५२ सालमा नेपाल एयरलाइन्सले उडान भरे पनि इन्धन अभाव देखाउँदै चार महिनामै उडान बन्द गरेको थियो । विसं २०६० मा नेपाल वायु सेवा निगम, यति र सीता एयरलाइन्सले हप्तामा एक दिन भए पनि लगातार छ वर्षसम्म उडान भरेका थिए । विमानस्थल कालोपत्रे गर्न थालेपछि यो विमानस्थल चार वर्षसम्म बन्द भएको थियो ।

कालोपत्रे सकिएपछि तुलसीपुर उद्योग वाणिज्य संघको पहल र समन्वयमा गोमा एयरले २०७२ सालमा नौ महिनासम्म उडान भरेको थियो । यात्रु अभाव देखाउँदै फेरि सेवा रोकिएको थियो । फेरि २०७४ सालमा तुलसीपुर उपमहानगरको पहलमा समिट एयरलाइन्सले उडान भरे पनि यात्रु अभावको कारण देखाउँदै उडान रोकेको थियो ।