सवारी जाम घटाउन ह्वील लक अभियान प्रभावकारी

0
Shares

दुई महिनामा ह्वील लक अभियानमा ५३६ कारवाही

यमलाल भुसाल, बुटवल ।
प्रदेश ५ को राजधानी बुटवलमा दुर्घटना न्यूनिकरण र सवारी जाम हुन नदिनकालागि प्रहरीले सुरु गरेको ‘ह्वील लक’ अभियान ट्राफिक व्यबस्थापनमा प्रभावकारी भएको छ । बजार क्षेत्रमा पर्ने राजमार्गमै सवारी पार्किङ् गर्दा त्यसले दुर्घटना बढाएको तथा सवारी जाम बढेकाले दुर्घटना न्यूनिकरण तथा सवारी जाम हुन नदिनकालागि राजमार्गमा पार्किङ् गरेको सवारी साधनलाई कारवाही अभियान सञ्चालन गरेको हो ।

प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलले बुटवलको व्यस्त बजारमा पर्ने ट्राफिकचोकदेखि चौराहासम्म मुख्य राजमार्गमा पार्किङ् गर्ने सवारी साधनमा ह्वली लक गरेर कारवाही थालेपछि ट्राफिक व्यबस्थापनमा सहज भएको प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

प्रहरी ट्राफिक व्यबस्थापनमा मुख्य सडकमै हुने पार्किङ् चुनौतीका रुपमा रहेकाले त्यसको व्यबस्थापनकालागि ह्वील लक गरी कारवाही गर्ने अभियान सुरु गरेको हो । चालु आर्थिक वर्षको सुरुबाट यसका बारेमा प्रचार प्रसार गर्नुका साथै साउनको १५ देखि ह्वील लक गरि कारवाही प्रकृया सुरु गरेको थियो । प्रहरीले सुरु गरेको ह्वील लक अभियानमा हालसम्म ५३६ जना कारवाहीमा परेका छन् । प्रहरीले सुरु गरेको यो अभियानबाट सवारी जाम घटेको प्रहरी नायव उपरिक्षक बुढाथोकी बताउनु हुन्छ ।

त्यस्तै प्रहरीले बुटवल पाल्पा सडकमा सवारी साधनलाई टाईम कार्ड सुरु गरेको छ । सवारी साधन अत्यधिक गतिमा सञ्चालन गरेका कारण बढी दुर्घटना भएकाले दुर्घटना नियन्त्रणकालागि प्रहरीले टाईम कार्ड सुरु गरेको हो । टाईम कार्ड लागु भएको सडकमा निर्धारित समय भन्दा पहिला कुनै सवारी साधन आएमा त्यस्ता सवारीलाई प्रहरीले कारवाही गर्छ । प्रहरी नायव उपरिक्षक बुढाथोकीका अनुसार सवारी दुर्घटना नियन्त्रणकै लागि प्रहरीले अव अरु सडकमा पनि टाईम कार्ड लागु गर्ने तयारी गरेको छ ।

नेपालमा दशैं, तिहार छठ लगायतका चाडपर्वहरु सुरु हुन लागेको छ । चाड पर्वको समयमा ट्राफिकिङ् बढी हुने भएकाले त्यसलाई व्यबस्थित गर्नकालागि कार्यालयले अन्य समयमा भन्दा बढी जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । दुर्घटना न्यूनिकरण तथा सवारी जाम व्यबस्थित गरि यात्रुलाई सहज यात्राको व्यबस्था मिलाउन नियमति समय र स्थान भन्दा बाहेक पनि बजार क्षेत्रमा बढी जनशक्ति परिचालन गरिने उहाँले बताउनु भयो ।