‘दोहोरो करले निजी क्षेत्रमा निराशा’


नेपाल समाचारपत्र, ललितपुर
उद्यमी व्यवसायीले निजी क्षेत्रले ब्यहोनु परिरहेको दोहोरो, तेहोरो करले मुलुक समृद्धिको दिशातर्फ नभई झन् झन् निराशातर्फ धकेलिरहेको बताएका छन् ।

ललितपुर उद्योग वाणिज्य संघको सोमबार भएको ३९औं वार्षिक साधारणसभामा उनीहरुले सरकारले मुखले समृद्धि भने पनि व्यवहारमा समृद्धिको आधार बनाउने दिशातर्फ मुलुक अघि नबढेको निश्कर्षप्रति सरकारको ध्यानाकर्षण गराए ।

सभामा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलसंँगै संघ र प्रदेशका सासद् र स्थानीय तहका जनप्रतिनिधिको उपस्थिति रहेको थियो । उनीहरुले सरकारको समृद्धिको नाराले शुरुमा उत्साहित भए पनि समयसँंगै उत्साह सेलाउँदै गएको भन्दै समृद्धिको दिशामा अघि बढिरहेको अनुभँत गराउने कार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उपभोक्ता ऐनमार्फत व्यवसायीलाई कस्ने सरकारको नियत रहेको उल्लेख ऐन बनाउँदा निजी क्षेत्रलाई एक शब्द नसोधिएको बताउनुभयो ।

अहिले पनि १३ वटा निकायबाट अनुगमन हुने गरेको भन्दै सो कार्यलाई व्यवस्थित गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सरकारले समृद्धिको नारा दिइरहेको अवस्थामा दोहोरो, तेहोरो करले निजी क्षेत्रलाई निराशा तुल्याएको पनि उहाँको भनाइ रहेको छ ।
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीमैत्रीको वातावरण बनाउने दिशामा ठोस कार्य गर्न सरकारलाई आग्रह गर्दै त्यस्ता कार्यमा सघाउन निजी क्षेत्र तयार रहेको पनि अध्यक्ष राणाले बताउनुभयो ।

सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले उपभोक्ता संरक्षण सम्बन्धी ऐन हेर्दा व्यवसायी भनेका नाफा कमाउन जस्तोसुकै खराब काम गर्ने भन्ने आशय झल्किने गरेको बताउँदै भन्नुभयो– ‘गल्ती गर्नेलाई कारबाही गर्नुपर्छ । व्यवसायीलाई गल्ती सुधार्ने अवसर पनि दिनुपर्दछ । तर, अहिले सामान्य त्रुटी गर्ने व्यवसायीलाई पनि सीधैं जेल हाल्ने व्यवस्थाले कसरी समृद्धि हासिल हुन्छ ?’
सुखी नेपाली र समृद्ध नेपालको आर्थिक विकास हुनुपर्ने जिकिर गर्दै अध्यक्ष महर्जनले सरकारले समृद्धिको नारा दोह¥याए पनि व्यवहारमा कुनै नयाँपन दिन नसकेको गुनासो गर्नुभयो ।

अध्यक्ष महर्जनले ललितपुरलाई जिल्ला सांस्कृतिक, पर्यटकीय र हस्तकलाको जिल्ला बनाउन संघ, प्रदेश र स्थानीय तहले सहयोग यथोचित सहयोग गर्न आग्रह गर्नुभयो ।

व्यवसायीहरुले उठाएको विषयको जवाफ दिँदै रक्षामन्त्री समेत रहनुभएका पोखरेलले संघ, प्रदेश र स्थानीय तहले के कस्तो कर उठाउने भन्ने यकिन गर्न नपाउँदै दोहोरो, तेहोरो करको समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो–‘अब यस्तो हुने छैन । सरकारले एउटै विषयमा दोहोरो, तेहोरो कर तिर्ने अवस्था अन्त्य गर्नेछ ।’ निजी क्षेत्रले उठाएको समस्याप्रति सरकार गम्भीर रहेकोले आपसी छलफल र संवादको माध्यमबाट समस्या समाधान गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राजनीतिक अधिकारको लागि संघर्ष समाप्त भएको बताउँदै कार्यवाहक प्रधानमन्त्री पोखरेलले अब आर्थिक समृद्धिको लागि सबै मिलेर अघि बढ्नुपर्ने समय आएको धारणा राख्नुभयो । कृषिको व्यावसायिकरणको माध्यमबाट समृद्धि दिशामा अघि बढ्न सकिने उल्लेख गर्दै सरकारले भँउपयोग नीति ल्याउन लागिएको पनि उहाँले जानकारी दिनुभयो ।

ललितपुर क्षेत्र नं १ का सासंद् नवराज सिलवाल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशी, संघका महासचिव मनोजबहादुर न्याछ्यो जिल्लाको स्रोत, साधनको अधिकतम् परिचालन गरी आर्थिक विकास गर्नुपर्नेमा केन्द्रीत गर्दै आ आफ्नो भनाइ राख्नुभयो ।