नेपालको सामना ताजकिस्तानसँग


काठमाडौं, (नेस)
डिफेन्डिङ च्याम्पियन नेपालले आज पाँचौ संस्करणको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आफनो पहिलो खेलमा ताजकिस्तानसँग खेल्दैछ ।

अन्तिम समयमा प्रतियोगितामा सहभागि जनाएको नेपालको लागि पहिलो खेल नै चुनौती पूर्ण हुने पक्का छ । ताजकिस्तानको विरुद्ध कस्तो रणनीति लिने त्यो प्रमुख प्रशिक्षक बालगोपाल महर्जनले बताएका छैनन् । उनले खालि समर्पण भएर खेलमा नतिजा सकारात्मक आउने कुरा बताएका छन्। उनले भनेका छन्—अन्तिम समयमा हामीले सहभागि जनाउने तय ग¥यौं । त्यसैले कस्तो हुन्छ त्यो भन्न सकिँदैन ।

तर समर्पण भएर खेल्ने हो भने नतिजा हाम्रो पक्षमा आउन सकिन्छ । उनीहरु (ताजकिस्तान) मानसिक र शारीरिकरुपमा बलियो छन् ।
उनले थपे—टिमले करिब ३ महिनाअघिदेखि नियमित प्रशिक्षण गरिरहेकाले पनि अभ्यासमा कमी भएको छैन । हामी उपाधिकै लागि खेल्ने हो ।
खेल सिलेटस्थित रंगशालामा ढाकाको स्थानिय समयअनुसार साँझ ६ः३० बजेपछि शुरु हुनेछ । नेपालको समूह ए मा ताजकिस्तान र प्यालेस्टाइन रहेका छन् । नेपालले दोस्रो खेलमा असोज २१ गते प्यालेस्टाइनविरुद्ध खेल्नेछ ।

अघिल्लो संस्करणको च्याम्पियन बन्दा नेपालले पाउनुपर्ने ५० हजार अमेरिकी डलरमध्ये आधा रकम मात्रै प्राप्त गरेको थियो । बाँकी आधी रकम नपाएसम्म प्रतियोगिता नखेल्ने अडान लिएपछि नेपाललाई बंगलादेसको फुटबल महासंघले केही साताअघि मात्रै २५ हजार डलर उपलब्ध गराएको थियो । यसपछि एन्फाले नेपालको सहभागिता हुने तय गरेपछि भर्खरै शुरु भएको ए डिभिजन लिग पनि यही प्रतियोगिताको कारण स्थगित भएको छ ।