प्रदेश सरकार ७ महिने शिशुजस्तै


हेटौंडा,(नेस) । नेपाल पत्रकार महासंघ मकवानपुरको १५ औं साधारणसभा सम्पन्न भएको छ । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा सभा भएको हो । कार्यक्रममा विभिन्न पत्रकार संगठनका प्रतिनिधिले पत्रकारहरुको छाता संगठन पत्रकार महासंघको गतिविधिका विषयमा केही गुनासो तथा केही सुझाव राखेका थिए । मिडियालाई समानुपातिक विज्ञापन बितरण गर्ने विषयसमेत कार्यक्रममा उठेको थियो ।

कार्यक्रममा प्रदेश मुख्यमन्त्री पौडेलले भिजन लिएर आए प्रदेश सरकार पत्रकारलाई सहयोग गर्न तयार रहेको बताउनुभयो । मुख्यमन्त्री पौडेलले भिजन लिएर आए सरकार सहयोग र सहकार्यका लागि तयार रहेको बताउनुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको बचाउ गर्नुभयो । उहाँले लामो विरासत बोकेको केन्द्र र स्थानीय सरकारको दाँजोमा प्रदेश सरकारले केही पनि गरेन भन्न नमिल्ने तर्क गर्नुभयो ।
उहाँले २ सय ५० वर्षको विरासत बोकेको केन्द्र र ७४ वर्षको इतिहास बोकेको स्थानीय सरकारको दाँजो गरेर ७ महिने शिशुजस्तै प्रदेश सरकारको टिप्पणी गर्न नहुने बताउनुभयो ।

‘बाहिर देखिने काम नभए पनि धेरै काम भएको छ,’ उहाँले बाटो हिँड्ने ट्रयाकका रुपमा कानुन निर्माणपछि सरकार बाटो खोल्न सफल भएको र अब दौडिने बताउनुभयो । उहाँले संघीयता जोगाउने गरी कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

प्रदेश सरकार उडिरेहको जहाजजस्तै भएको उदाहरण दिँदै उहाँले भन्नुभयो–जहाज उड्दाको समयमा थाहा हुन्छ । उडिरहेको बेला थाहा हुन्न र ल्याण्ड गरेको स्थानमा मात्र थाहा हुन्छ । प्रदेश सरकार पनि त्यस्तै हो । उसले कामको परिणाम निकालेपछि मात्र थाहा हुन्छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले हालको विकास मोडलले मुलुकको विकास र गति मेल नखाने बताउनुभयो । महासंघ अध्यक्ष हरि हुमागाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद्द्वय मुनु सिग्देल र प्रेमबहादुर पुलामी, हेटौंडा उपमहानगर मेयर हरिबहादुर महत, मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण कटुवाल, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, निर्माण व्यवसायी संघ अध्यक्ष श्याम ढकाल र भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ मकवानपुरले संस्थापक अध्यक्ष न्हुच्छेमान श्रेष्ठको स्मृतिमा स्थापना गरेको ‘न्हुच्छेमान श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार’ नेपाल समाचारपत्रकर्मी पत्रकार रोशन पराजुलीलाई प्रदान गरेको छ ।
महासंघ मकवानपुरको सोमबार भएको १५ औं वार्षिक साधारणसभामा पराजुलीलाई नगद ५ हजार १ सहितको पुरस्कार ३ नम्बर प्रदेशका मुख्यमन्त्री पौडेल र कानुन मन्त्री जम्कट्टेलले प्रदान गर्नुभएको हो ।