एयर एसियाले विमानस्थल र पर्यटन बोर्डको बक्यौता तिर्न आलटाल गर्दै


नेपाल समाचारपत्र, काठमाडौं
बक्यौता नतिरे बुधबारदेखि त्रिभुवन विमानस्थलले उडान बन्द गर्ने चेतावनी दिएपछि मलेसियाको निजी हवाई कम्पनी एयर एसिया एक्सले एक साता समय मागको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय र कम्पनीका प्रतिनिधिबीच मंगलबार भएको छलफलमा कम्पनीले एक साता समय माग गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउनुभयो।

‘विमानस्थल कार्यालयलले कुनै हालतमा बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्नुपर्छ भनेका छौं, नभए विमान विमानस्थलमा नै ग्राउन्डेड हुन्छ,’ महाप्रबन्धक क्षेत्रीले भन्नुभयो । कम्पनीले अर्को शुक्रबारसम्म १० करोड रुपियाँ भुक्तानी गर्ने प्रतिबद्धता जनाएको महाप्रबन्धक क्षेत्रीले जानकारी दिनुभयो ।

मलेसियाको क्वालालम्पुर विमानस्थलबाट काठमाडौंमा उडान गर्दै आएको एयर एसियाले सेवा शुल्कवापत त्रिभुवन विमानस्थललाई १८ करोड रुपियाँ भुक्तानी गर्न बाँकीे छ ।

कम्पनीले कही समय अघि २३ करोड रुपियाँ चुक्ता गरेको थियो । कम्पनीले उडान बन्द गर्नुभन्दा पहिले नै बक्यौता उठाई सक्ने महाप्रवन्धक क्षेत्रीले बताउनुभयो । कम्पनीले असोज २७ गतेदेखि काठमाडौं उडान बन्द गर्न लागेको छ । कम्पनीले अवतरण शुल्क, पार्किङ शुल्क, विमानस्थल विकास शुल्क, कोठा भाडालगायतको ३ वर्षदेखि बक्यौता बाँकी राखेको थियो । एयर एसिया एक्सले काठमाडौंमा हप्तामा चार वटा उडान भर्दै आएको छ।

एयर एसियाले पर्यटन शुल्कवापत ७ करोड २३ लाख ८७ हजार रुपियाँ नेपाल पर्यटन बोर्डलाई पनि तिर्न बाँकी छ। पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकसँग नेपालबाट बाहिरिँदा प्रतिव्यक्ति १ हजार रुपियाँ लिँदै आएको छ। यस्तो रकम एयरलाइन्सले टिकट काट्दा यात्रुसँग लिएर पर्यटन बोर्डलाई तिर्नुपर्ने हुन्छ । तर, एयर एसियाले यात्रुसँग रकम उठाएर बोर्डलाई भने भुक्तानी गरेको छैन ।