एपीएफलाई अग्निको प्रायोजन


नेपाल समाचारपत्र
काठमाडौं
नेपाल एपीएफ क्लबको फुटबल तथा क्रिकेट खेल प्रवद्र्धनका लागि अग्नि इन्कर्पोरेटेड प्रालि.(महिन्द्रा एन्ड महिन्द्रा गाडीको नेपालको आधिकारिक बिक्रेता) ले दुई करोड रूपियाँ प्रायोजन गरेको छ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र अग्नि इन्कर्पोरेटेडका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठबीच भएको सम्झौता पाँच वर्षका लागि हुनेछ। एपीएफ क्लबलाई सो इन्कर्पोरेटेडले फिटवेल कम्पनीको खेलकुद पोशाकसमेत हस्तान्तरण गरेको थियो।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले अग्निका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठलाई सशस्त्र प्रहरी बलको तर्फबाट मायाको चिनोसमेत प्रदान गर्नुभयो। समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले कुनै पनि व्यक्तिको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अपरिहार्य रहेको चर्चा गर्नुहुँदै फौजी जीवन र खेलकुद गतिविधिबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्नुभयो।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल एपीएफ क्लब र अग्नि इन्कर्पाेरेटेड प्रालि. (महिन्द्रा) बीच भएको सो सम्झौताले आगामी दिनमा खेल जगत्मा अझै बढी योगदान पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो।