आन्दोलन फिर्तासँगै वीरगन्ज नाकाबाट इन्धन भित्रियो



वीरगन्ज, (नेस)
चालकको हड्तालका कारण वीरगन्ज नाकामा चार दिनदेखि रोकिएको इन्धन ढुवानी शुक्रबार बेलुकादेखि सुचारु भएको छ।

आन्दोलनरत नेपाल स्वतन्त्र यातायात मजदँर संघर्ष समिति र सरकारबीच आठ बुँदे सहमति भएसँगै हड्तालमा रहेका चालक काममा फर्किएका हुन्। भारतको रक्सौलमा रहेको इण्डियन आयल कर्पोरेशन (आईओसी) को डिपोबाट पेट्रोल, डिजेल भरेर शुक्रबार आठ बजेसम्म ३० वटा ट्यांकर वीरगन्ज नाका हुँदै नेपाल भित्रिएका हुन्।

निगमका क्षेत्रीय प्रबन्धक जगदीशचन्द्र यादवका अनुसार शुक्रबार साँझदेखि एलपी ग्यास बोकेका बुलेट पनि वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गरेका छन् । वीरगन्ज भन्सार कार्यालयका सँचना अधिकारी सन्तोष यादवले शुक्रबार साँझसम्म पेट्रोलियम पदार्थ बोकेका ११ वटा ट्यांकर र ग्यासका केही बुलेट वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गरेको जानकारी दिनुभयो । शनिबार बिहानदेखि साविककै परिमाणमा इन्धनको आयात हुने क्षेत्रीय प्रबन्धक यादवको भनाइ छ।

चार दिनदेखि इन्धन आयात हुन नसक्दा वीरगन्ज, राजधानीसहित देशका मुख्य शहरमा पेट्रोल, डिजेल र ग्यासको अभाव भएको छ। नेपालका लागि चाहिने कुल इन्धनको ९० प्रतिशत हिस्सा, वीरगन्ज नाकाबाट नै भित्रिने गरेको छ।

प्रतिक्रिया दिनुहोस्