थापाथलीमा बन्ने भयो राष्ट्र बैंकको नोट भण्डार गर्ने भवन

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल राष्ट्र बैंकले थापाथलीमा २ अर्ब ५५ करोड २० लाख रुपियाँ खर्चिएर नयाँ भवन बनाउने भएको छ। आगामी ३० महिनामा सम्पन्न हुने उक्त भवनमा दुई तला अन्डरग्राउन्डसहित जमिनमाथि पुरानै भवन जस्तो चार तलको हुनेछ। यसमा नोटको भण्डारण र कार्यालय बस्नेछ।

४२ रोपनी ३ आना दुई पैसा क्षेत्रफलभित्र निर्माण हुन लागेको भवन राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले शुक्रबार शिलान्यास गरेका छन्। भवन अगाडिको बाहिरी मोहडा पुरानै शैलीको भए पनि भवन युरोपियन मोडल र नेपाली परम्परागत शैलीमा निर्माण गरिनेछ। तीन वटा ब्लकमध्ये ब्लक ‘ए’ मुख्य बैकिङ कार्यालय भवन, ब्लक ‘बी’ मा क्यान्टिन र हेल्थ क्लब र ब्लक ‘सी’ मा सेक्युरिटी ब्लक रहेनछ। २ लाख ४२ हजार २ सय ७६. ३५ वर्गफिटमा क्षेत्रफलमा भवन निर्माण हुनेछन्।

भवन बनाउन विल्ली कन्टेक जीभीसँग ठेक्का सम्झौता भएको छ। ठेकेदार न्यून लागत १ अर्ब ८७ करोड १० लाख रुपियाँमा ठेक्का सम्झौता भएको छ। ३० महिना सम्पूर्ण निर्माण कार्य गर्ने लक्ष्य रहे पनि १८ महिनामा सबै ब्लकको स्ट्रक्चरको कार्य, २४ महिनाभित्र फिक्चर र फाइल पेन्टबाहेक फिनिसिङको कार्य गर्नुपर्ने १८ महिनापछि सम्झौताअनुसारको काम सम्पन्न नभए ठेकेदारलाई जरिवना लगाउन सकिने प्रावधान छ।

राष्ट्र बैंकको केन्द्रीय कार्यालय रहेको बालुवाटारस्थित मुल भवन र थापाथलीको बैकिङ कार्यालय रहेको भवन भूकम्पले क्षतिग्रस्त भएको थियो। थापाथलीको भवन शुक्रबार शिलान्यास भएको छ भने बालुवाटारस्थित मुल भवनको पनि दशंै अगाडि शिलान्यास हुने गर्भनर डा.नेपालले जानकारी दिनुभयो।

शिलान्यास कार्यक्रममा गभर्नर डा. नेपालले भवन भत्काउँदा विभिन्न विवाद आएको भन्दै धेरै राष्ट्र बैंककै पूर्वकर्मचारीबाट सहयोग नपाएको गुनासो गर्नुभएकोे थियो।सबै मापदण्ड पूरा गरी भवनको शिलान्यास गरिएको छ, जतिसक्दो चाँडो निर्माण सम्पन्न हुनुपर्ने धारणा राख्नुभयो। राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले भवन पुरातत्व विभागको स्वीकृतिमा पुरानै शैलीमा भवन निर्माण गरिने जानकारी दिनुभयोे।

पुरानो भवनको नोट व्यवस्थापनका लागि करिब एक महिना लाग्ने उल्लेख गर्दै ती नोटलाई केन्द्रीय कार्यालयमा लगिने जानकारी दिनुभयो। उहाँका अनुसार दशैंसम्म नोट वितरण र व्यवस्थापनको काम थापाथलीबाटै हुनेछ।