नक्कली अनुभवपत्र बाँड्दै रकम असुल्दै

188
Shares

धनवीर दाहाल, रुकुम ।
रोजगारीका लागी युवा युवतिहरु कुनै संघ संस्थामा रोजगार खुल्दा आवेदन दिनु स्वभाविक हो । गैरसरकारी संघ संस्थामा रोजगारका लागी आवेदन माग्दा शैक्षिक प्रमाण पत्रका अलवा काम गरेको अनुभव पत्र माग्ने प्रचलन छ । सोही प्रचलनका कारण रुकुममा यति बेला केही गैरसरकारी संस्थाले नक्कली अनुभव पत्र दिँदै रकम असुल्दै गरेको रहस्य खुलेको छ । रुकुम पश्चिमको मुसिकोटमा रहेको उत्पीडीत सामुदायिक विकास केन्द्र नेपाल नाम रहेको र ओसिडिसीको नामले परिचत गैरसरकारी संस्थाले प्रति व्यक्ति १५०० देखी ६ हजार सम्म रकम असुल गरेर काम गरेको अनुभव पत्र दिने गरेको हो । लागु नभएको कार्यक्रमको नाम हालेर अनुभव पत्र प्रदान गरेको प्रमाण नेपालसमाचार पत्रलाई फेला परेको छ । हाल सम्म ७१ जनालाई नक्कली अनुभव पत्र प्रदान गर्ने गैरसरकारी संस्था हो ओसिडिसी । सो अनुभव पत्र ल्याए गरे वापत आफुहरुले रकम बुझाउने गरेको अनुभव पत्र ल्याउनेहरुले बताएका छन् ।

 

संस्थामा काम गर्ने कर्मचारीहरुको तलवी भरपाई, बैंक खाता र अडिट रिपोर्ट हुन्छ तर यसरी सो संस्थाले दिएको अनुभव पत्र र नियुक्ती भएका कर्मचारीहरुको कुनै तलवी भरपाई, बैंक खाता र अडिट रिपोर्ट नभएको पुष्टी भएको छ । यसरी बाँडिएको अनुभव पत्रमा अध्यक्ष खड्गबहादुर बस्त्राकारको हस्ताक्षर समेत फरक फरक रहेको छ । यस्तै ति पत्रहरु मध्येमा कुनैमा मिति उल्लेख नभएको र कुनैमा संचालित भएको भनिएको कार्यक्रम त्यो मितिमा रुकुममा लागु नभएको पाइएको छ ।

हेर्नुस ती पत्रहरु 

 

 

 

 

 

कार्यअनुभव नभएका उम्मेदवारलाई दरखास्त लगाउन नपाइने गैरसरकारी संस्थाहरुको निति र सोही नितिको दुरुपयोग गर्दै उत्पीडीत सामुदायिक विकास केन्द्र नेपाल रुकुमले नक्कली कार्य अनुभव बाँडिरहेको प्रमाण खुलेको हो । बाँके जिल्लामा दर्ता भएको सो गैरसरकारी संस्थाले रुकुम शाखा संचालन गरेको छ । संस्थाका अध्यक्ष खड्ग बस्त्राकारले जिल्लामा एलजिसिडिपी, गरिवी निवारण कोष लगाएतका कार्यक्रम भने संचालन गरेका थिए । हाल कुनै पनि कार्यक्रम नभएको सो संस्थाले बिगतमा कार्यक्रम सम्पन्न गरेको प्रमाण बनाउँदै बिक्री गर्दै गरेको हो ।

 

यस्तै सो संस्थाले दिएको अनुभव पत्र र नियुक्ती हेर्ने हो भने नागरिकता नबनाउँदै जागिर दिएको पाइएको छ । साविकको खोलागाँउ ६ की पञ्चकली बुढाथोकीले २०६९ असोज २८ गते नागरिकता बनाएकी छन् तर उनको नियुक्ती भने सो संस्थामा २०६८ माघ २ गते भएको छ । उनले आसा परियोजनाको लागी रुकुमेली समाज विकास केन्द्रको मौखिक अन्र्तवार्तामा आफुले उत्पीडीत सामुदायिक विकास केन्द्र रुकुमका अध्यक्षलाई अनुभव पत्र ल्याए वापत रु १५ सय बुझाएको बताएकी थिइन् । अन्र्तवार्तामा सहभागी कर्मचारी छनौट समितीका एक सदस्यले भने “पञ्चकलीले त १५०० तिरेर डकुमेन्ट ल्याएको कुरा हामीलाई भनेकि छन् ।” ति सदस्यका अनुसार उत्पीडीत सामुदायिक विकास केन्द्र रुकुमबाट नक्कली अनुभव पत्र ल्याएर १८ जनाले आसा परियोजनामा आवेदन दिएका थिए । यता चौरजहारी नगरपालिका वडा नं १२ का नेपाल रेडक्रस सोसाइटी रुकुममा काम गर्दै आएका बसन्त बिनोद शर्मा र बेस नेपाल सल्यानमा काम गर्दै आएका प्रेमलाल आचार्यले नक्कली अनुभव पत्र छानबिन गरीपाउँ भनि जिल्ला प्रशासनमा उजुरी दिइसकेका छन् । “जिल्ला प्रशासनमा उजुरी दिएका छौं, सुब्वा सावले ३ गते आउनुस भन्नुभएको छ, हामी कानुनी उपचा  र खोज्छौं” चौरजहारी नगरपालिका १२ साविक खोलागाँउ ७ का बसन्त बिनोद शर्माले भने ।

हेर्नुस जागिर पहिला नागरिकता पछि बनाएको प्रमाण

 

 

यसै गरी साविकको सिम्ली गाविस २ की ललिता बि.सी के.सी लाई चलानी नम्बर ०६८÷०६९ राखी कुनै मिति नराखेर जाइकाको सहयोगमा बैकल्पीक सुधार आयोजनामा नियुक्ती दिइएको छ तर त्यो समयमा रुकुममा जाइकाको कुनै कार्यक्रम संचालन भएकोे जिल्ला समन्वय समितीको रेकर्डमा भेटिएन । यस्तै खड्ग बस्त्राकारको हस्ताक्षर ललिताकै नियुक्ती र अनुभव पत्रमा फरक फरक भेटिएको छ । यस्तै साविकको नुवाकोट ७ की निमा ओलीलाई स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रममा नियुक्ती दिइएको छ तर सो कार्यक्रमको वेभसाइटमा निमा ओली कर्मचारी नभएको तर सो क्षेत्रमा थलबहादुर कुँवर भएको भेटिएको छ ।

 

हेर्नुस निमा ओलीको नियुक्ती

 

यसै गरी उत्पीडीत सामुदायिक विकास केन्द्र नेपालका केन्द्रीय अध्यक्ष डिलबहादुर परियारको हस्ताक्षर रहेको निराजन परियारको अनुभव पत्रलाई स्क्यान गरेर चौरजहारी नगरपालिका वडा नं १२ निबासी प्रेम गौतमलाई दिइएको छ । सो गरे वापत सो संस्थाका रुकुमका अध्यक्ष बस्त्राकारले प्रेम गौतमबाट रु ३००० लिएको समेत खुलेको छ । केन्द्रीय अध्यक्ष परियारले आफुले अनुभव पत्र नदिएको बताए । उनले भने “मैले दिएकै छैन मेरो हस्ताक्षर स्क्यान गरेर खड्गले नै दिएको हुनुपर्छ ।”

हेर्नुस स्क्यान गरेको पत्र

 

यसै गरी सामुदायिक वन उपभोक्ता महासंघ रुकुमले पनि नक्कली अनुभव पत्र दिएको पाइएको छ । सो संस्थाको लेटरप्याड र छाप तथा संस्था अध्यक्ष सुर्यकिरण चन्दको हस्ताक्षरमा परियोजना नभएको ठाँउमा कर्मचारी नियुक्ती गरेको प्रमाण नेपाल समाचार पत्रलाई प्राप्त भएको छ । परियोजना नभएको ठाँउमा अनुभव पत्र दिइएको पाइयो नि ? भन्ने नेपालसमाचार पत्रको जिज्ञासामा फेकोफन रुकुमका अध्यक्ष सुर्यकिरण चन्दले यस बिषयमा आफुलाई थाहा नभएको र धेरै ठाँउबाट यस्तो गुनासो आएकोले हस्ताक्षर चोरेर त्यसो गरिएको हुन सक्ने बताए । आफु जिल्ला बाहिर रहेकोले फर्किएपछि कानुनी उपचार खोज्ने अध्यक्ष चन्दले बताए । चन्दले भने “मैले हस्ताक्षर गरेर अनुभव पत्र दिएकै छैन, संस्थाको छाप हराउनु र छाप हराएको केही दिनमा मेरो हस्ताक्षरमा अनुभव पत्र दिइनु संयोग नभएकोले अव छानबिन गरी कानुनी बाटो खोजिने छ ।” मेरो हस्ताक्षर कृते गरिएको पाइएकोले कानुनी कार्वाहीका लागी म अगाडी बढ्छु“ उनले भने ।

हेर्नुस फेकोफनबाट अध्यक्ष सुर्यकिरण चन्दको हस्ताक्षर चोरेर दिइएका अनुभव पत्र

 

 


यति मात्र होइन ग्रामिण जागरण केन्द्र रुकुम नामको संस्थाले पनि अनुभव पत्र बिक्रि गरेको प्रमाण नेपालसमाचार पत्रलाई प्राप्त भएको छ । जिल्लाका कुनै पनि क्षेत्रमा काम गरेको रेकर्ड नभेटिएको तर प्रमाणपत्रमा ताजा तरकारी करेसाबारी सम्बन्धी कार्यक्रम गरेको भनि नक्कली नियुक्ती र अनुभव पत्र प्रदान गरेको हो । सो संस्थाका अध्यक्ष हेमन्त प्रसाद ओलीले हस्ताक्षर गरेका ति पत्रहरुमा हेर्दा र जिल्लामा काम गरेको प्रतिबेदन जिल्ला समन्वय समिति रुकुम पुर्व र पश्चिममा हेर्दा कतै मेल खाएको पाइएको छैन ।

हेर्नुस सो संस्थाले दिएका कार्यअनुभव पत्रहरु

 

 

 

यता प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले त्यसरी काम नगरी नियुक्ती अनुभव पत्र बाँड्न नपाइने बताए । उनले भने “संस्थाको उद्देश्य अनुसार काम भएको हुनुपर्छ । संस्थाले संचालन नगरेको कार्यक्रमको नाम बेचेर नियुक्ती दिन पाइँदैन ।” ,