अपराधविरुद्ध पर्वत प्रहरीको ‘स्क्यानिङ’ अभियान

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत
समाजमा भएका धेरै अपराधका घटनाहरु बाहिर आउन सकेका छैनन । अपराध भैरहे पनि लुकेका अपराध बाहिर आउन नसकेको बेला पर्वत प्रहरीले भने समुदायमा नै पुग्ने गरि ‘स्क्यानिङ्ग’ अभियान थालेको छ ।
प्रहरी समुदायको तहमा नपुग्दा सम्म अपराधका धेरै घटनाहरु बाहिर आउन नसक्ने भएकाले समुदाय र टोलटोलमै पुगेर ‘स्क्यानिङ्ग’ गर्ने अभियान थालेको हो ।

जिल्ला प्रहरी कार्यालयले जिल्लाका सबै बस्ती र टोलमा प्रहरी पुगेर त्यहाँ घट्ने अपराध र समुदायका सुरक्षा सम्बन्धी समस्याको जानकारी लिन थालेको छ । नगरपालिका तथा गाउँपालिकाका वडा अध्यक्ष र सदस्यहरु सहित सबै टोलमा पुगेर सुरक्षा चुनौती र समुदायको सतर्कताका बिषयमा जानकारी लिने अभियान थालिएको जिल्ला प्रहरी प्रमुख भूवनेश्वर तिवारीले बताए ।

समुदायमा नै नपुगे सम्म प्रहरीले समुदायमा लुकेको अपराध र स्थानियबासीका समस्याहरुका बारेमा जानकारी लिन नसक्ने अवस्था भएकाले टोल र बस्ती पुग्ने अभियान थालेको उनको भनाई छ । ‘जनताका बिचमा पुगेपछि मात्रै सुरक्षाको अवस्था र चुनौतीका बारेमा पत्ता लगाउन सकिन्छ’ उनले भने ‘समुदायमा पुगेर अपराधको अवस्थाका बारेमा एन्टिभाइरसले कम्प्युटर स्क्यानिङ्ग गरे जस्तै समस्या पहिल्याएर समाधानका लागि प्रयास समेत थाल्ने छौ’ पर्वतका ७ वटा स्थानिय तहका ६१ वटै वडामा पुगेर अभियान सञ्चालन हुने छ ।

अभियान अन्र्तगत गएको हप्ता देखि जिल्लाका सबै प्रहरी युनिटहरुले वडावडामा पुगेर अन्तरकृया गर्न थालेका छन । स्थानिय तहमा रहेका घरेलु हिंसा, लागु औषध, गाँजा खेती, ट्राफिक समस्या लगायतका बिषयमा अन्तरकृया भैरहेका छन । समुदायले जनप्रतिनिधी सहित भएका यस्ता अन्तरकृयाहरुमा आफ्ना समस्याहरु खुलस्त रुपमा राख्ने भएकाले त्यस अनुसार नै प्रहरीले कार्ययोजना बनाएर अपराध नियन्त्रण गर्ने जिल्ला प्रहरी प्रमुख डिएसपी तिवारीले बताए ।

बिद्यार्थीहरुका बिचमा पुगेर सामाजिक सञ्जालको प्रयोग, छात्राहरुले आफुँलाई सुरक्षित कसरी राख्ने, मोबाइलको प्रयोग, लागु औषधको प्रयोगबाट हुने बेफाइदा जस बिषयमा प्रशिक्षण दिने काम पनि अभियानकै क्रममा भैरहेको उनले जानकारी दिए । अन्तरकृयामा कुन अपराध गर्दा कस्तो प्रकारको कानुनी काबार्ही हुन्छ भनेर सचेतना कक्षा समेत सञ्चालन भैरहेको उनले बताए ।

अभियानपछि पर्वतका टोलबस्तीका समस्याहरु आउने र प्रहरीले त्यसैका आधारमा नियमित समुदायमा पुग्ने काम हुने उनको भनाई छ । प्रहरीले हराएका बालबालिका खोज्ने अभियान चलाउँदै आएको छ ।