स्वाइन फ्लु र हङकङ फ्लुको उपचार सेवा प्रभावित

0
Shares

शिवहरिप्रसाद भट्टराई, राजविराज
सप्तरीको कञ्चनरुप नगरपालिकामा विशेषज्ञ डाक्टर अभावका कारण स्वाईन फ्लु र हङकङ फ्लुको उपचार सेवा प्रभावित भएको छ ।
ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षणवाट ४ जनाको हालसम्म मृत्यु सकेको छ । उक्त नगरपालिकामा १ जनामा स्वाईन फ्लु र ४ जनामा हङकङ फ्लुको संक्रमण भेटिएको छ भने २ हजार १ सय जनामा ज्वरो, रुघाखोकी लगायतको समस्या देखिएको छ ।

प्रकोप वढ्दो क्रममा देखिएपछि नगरपालिकाको आकस्मिक वैठकले नगरपालिकालाई नै ‘विपद क्षेत्र’ घोषणा गरेको छ । तर, विरामीहरुलाई उपचारका लागि आवश्यक विज्ञेषज्ञ डाक्टर नहुँदा समस्या परेको स्वास्थ्य शाखा प्रमुख डम्वर गुप्ताले वताए । उनले भने–‘विशेषज्ञ डाक्टरको अभावले उपचारमा आवश्यक औषधी चलाउन अन्यौलता छ ।’ विशेषज्ञ डाक्टरको निगरानीमा मात्र यस्तो ओषधी चलाउनु पर्ने भएकोले उपचारमा कठिनाई भएको उनको भनाई छ ।

वडा ४, ६, ७ र ११ मा नमुना रगत र खकार संकलनका लागि शिविर सञ्चालन गरी हालसम्म ४० जनाको नमुना जनस्वास्थ्य प्रयोगशालामा पठाईएको जानकारी दिदै गुप्ताले हाल कञ्चनपुर स्वास्थ्य केन्द्रका डाक्टर सञ्जिव झा, राजेश कुमार यादव तथा कडरवोना स्वास्थ्य केन्द्रका जितेन्द्रकुमार यादव र मनोजकुमार चौधरीसहित ८० जना स्वास्थ्यकर्मीले सेवा दिईरहेको वताए ।

जिल्ला दैवि प्रकोप उद्दार समितिले चार दिनअघि राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालका डाक्टर रञ्जित झाको नेतृत्वमा दुई सदस्यिय टोली पनि प्रभावित क्षेत्रमा खटाएको थियो । तर, उक्त टोली प्राथमिक स्वास्य केन्द्र कञ्चनपुरमा पुगेर १० मिनेटपछि नै फिर्ता भएको थियो । ‘हामीसँग त वहाँहरुको भेट पनि भएन, के के गरेर जानु भो भन्ने नै थाहा छैन’– गुप्ताले भने ।
जिल्ला दैवि प्रकोप उद्दार समितिका संयोजक तथा सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले कञ्चनरुपमा फ्लुको समस्या घट्दो दरमा रहेको र भयावह अवस्था नरहेकाले डा. झाको टोली फिर्ता भएको वताए । ‘अहिले गम्भिर समस्या भएका विरामी कञ्चनपुरमा छैनन् र विरामीहरुको संख्या पनि घट्ने क्रममा छ’ उनले भने–‘आवश्यक्ता परे हामी फेरी डाक्टरको टोली पठाउँछौ ।’