दुर्गमका विद्यालयमा पुस्तकालय स्थापना अभियान

0
Shares

नेपाल समाचारपत्र, रुकुम ।
रुकुमको एक दुर्गम गाउँमा रहेको एक विद्यालयमा पुस्तकालय स्थापना गर्न पूर्वविद्यार्थीहरुले अभियान थालेका छन् । पूर्व विद्यार्थी एवं नेपाल समाचारपत्रकर्मी नरेन्द्र केसीको अगुवाइमा पूर्व विद्यार्थी मञ्चबाट यो अभियान थालिएको हो ।

यसैबीच घोराही १४ निवासी युवा ब्यवसायी एवं सामाजिक अभियन्ता नरेन्द्र पुनले दुर्गमको पुस्तकालयका लागि पुस्तक सहयोग गर्नुभएको छ ।

रुकुम पश्चिमको बालकल्याण माध्यामिक विद्यालय झुल्खेतमा स्थापना हुन थालेको पुस्तकालयका लागि उहाँले पुस्तक सहयोग गर्नुभएको हो । साझा प्रकाशन घोराहीबाट खरिद गरी बाल साहित्यका ३२ र अन्य साहित्यिक ५३ गरी ८५ वटा पुस्तक प्रदान गर्नुभएको हो ।

पूर्वविद्यार्थी मञ्चको अगुवाइमा सो विद्यालयमा पुस्तकालय स्थापना अभियान सञ्चालन गरिएको छ । जसका लागि कूल ७ हजार ४ सय ९ रुपैयाँका पुस्तक खरिद गरिएको छ । २५ प्रतिशत सहुलियत गर्दा हुनआउने ५ हजार ५ सय ५५ रुपैयाँको पुस्तक खरिद गरी पुनले अभियान संयोजक नरेन्द्र केसीलाई हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै अधिवक्ता गोमा महराले दश वटा पुस्तक हस्तान्तरण गर्नुभएको छ । उहाँले अक्सफोर्ड डिक्सनरीसहित महत्वपूर्ण पुस्तक प्रदान गरेका संयोजक केसीले जानकारी दिनुभयो ।

पूर्व विद्यार्थी मञ्चले थालेको अभियानमा अहिलेसम्म अभियानका लागि अमेरिकामा बस्ने विश्व रक्तदाता संघका अध्यक्ष अर्जुनप्रसाद मैनालीले २५ हजार, तत्कालीन जिल्ला विकास समिति रुकुमले २५ हजार र अन्य व्यक्तिले गरेको सहयोग ३४ हजार १ सय १७ गरी ८४ हजार १ सय १६ रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरिसकिएको संयोजक केसीले जानकारी दिनुभयो ।