भारतलाई हराएर माल्दिभ्स च्याम्पियन


नेपाल समाचारपत्र, काठमाडौं
समूह चरणबाट टसको बाजी जितेर सेमिफाइनल पुग्ने भाग्यमानी टोली बनेको माल्दिभ्सले साफ सुजुकी कप (साफ च्याम्पियन) को उपाधि जितेको छ।

शनिबार बंगलादेसको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा सम्पन्न फाइनल खेलमा माल्दिभ्सले भारतलाई २–१ ले हराएर उपाधिमाथि कब्जा जमायो । माल्दिभ्सको यो साफ च्याम्पियनसिपमा दोस्रो उपाधि हो । यसअधि २००८ मा माल्दिभ्सले पहिलो उपाधि जित्दा भारतलाई नै हराएको थियो । यसपटक भने कथा अलि फरक ढंगको रह्यो ।

माल्दिभ्सले समूह चरणमा भारतसँग २–० को हार बेहोरेको थियो । अर्को खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको माल्दिभ्सले एक गोल पनि गरेको थिएन । भारत दुई खेल नै जितेर अन्तिम चारमा पुगेको थियो । तर दोस्रो टोली कुन जाने भन्ने टुंगो लगाउन टस गर्नु परेको थियो । जसमा माल्दिभ्सले श्रीलंकासँग टसको बाजी जितेको थियो । यही नै टोलीको लागि लकी साबित भयो ।

साफका विजेता
७ भारत—१९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५
२ माल्दिभ्स—२००८, २०१८
१ श्रीलंका—१९९५
१ बंगलादेस—२००३
१ अफगानिस्तान—२०१३

माल्दिभ्सले बलियो देखिएको नेपाललाई सेमिफाइनलमा ३–० ले हराएर स्तब्ध तुल्यायो । अर्को खेलमा भारतले पाकिस्तानलाई ३–१ ले हराएर आठौं पटक उपाधि जित्न निकट पुगेको थियो । भारत उपाधिकै दावेदार पनि थियो । तर फाइनलमा माल्दिभ्सले सानदार खेल खेलेर भारतको उपाधि रक्षा गर्ने लक्ष्यमा तगारो बनिदियो । इब्राहिम महुधीले १९औं मिनेटमा गोल गरेर माल्दिभ्सलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा पनि माल्दिभ्सले भारतलाई दवावमै राखेको थियो । ६६औं मिनेटमा अली फसीरले अर्को गोल थपेपछि माल्दिभ्सले उपाधि जित्ने पक्का भयो । अन्तिममा सुमीत पासीले एक गोल फर्काएपनि त्यो भारतका लागि सान्त्वना सावित भएको थियो ।

माल्दिभ्सको उपाधि जित्ने आसा त्यतिबेला नै बनिसकेको थियो जब नेपाललाई सेमिफाइनलमा हराएको थियो । नेपालका पूर्व कप्तान अनिल गुरुङले नेपाल समाचारपत्रसँग बताए—सेमिफाइनलमा नेपाललाई हराउनु नै माल्दिभ्सको मोरल उच्च भइसकेको थियो ।

एक गोल नगरी सेमिफाइनल पुगेको टोली भनेर नेपालले पनि कमजोर नै आँकेको थियो । यस्तै भारतले पनि समूह चरणमा हराइसकेकोले यस्तै सोचेको हुनुपर्छ । तर खेल हेर्दा माल्दिभ्सले निकै राम्रो प्रदर्शन गरेको छ । माल्दिभ्स उपाधिको हकदार रहेको छ । माल्दिभ्सका कोच (क्रोएसियाका पिटर सेगर्ट) ले पनि उनीहरुलाई राम्रो ट्रेन गरेका छन् ।