निर्मलाको न्याय माग्दै म्याग्दीमा महिलाहरुद्वारा विरोध प्रदर्शन (तस्विरसहित)

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।
बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको पक्षमा न्यायको माग गर्दै शनिबार म्याग्दीमा विरोध प्रदर्शन भएको छ । निर्मला पन्तको न्यायको माग राख्दै देशैभरी महिला तथा बालबालिकामाथि भैरहेको हिंसा, बलात्कार र हत्याको विरोधमा म्याग्दीका महिलाहरुले सदरमुकाम बेनीमा विरोध ¥याली आयोजना गरेका हुन् ।


¥यालीमा सहभागी महिलाहरुले बलात्कार र हत्याको विरुद्धमा चर्को रुपमा आवाज उठाएका छन् । उनीहरुले बलात्कारीलाई सामाजिक बहिष्कार गरौं, महिलालाई रेप होइन सेभ गरौं, दोषीलाई कडा कार्वाही गर, शान्तिसुरक्षा कायम गर, महिलामैत्री कानुन तत्काल कार्यान्वयन गर्नुपर्ने र कानुनी राज्यको स्थापना हुनुपर्ने जस्ता नाराहरु लगाएका थिए । महिलाहरुले टाउकोमा कालो पट्टी बाँधेर प्रदर्शनमा उत्रिएका थिए । निर्मलालाई बलात्कार गरी हत्या गरेको २ महिना बितिसक्दा पनि अझैसम्म दोषी पत्ता लगाएर कार्वाही गर्न नसकेकोमा महिलाहरुले सरकारप्रति आक्रोश पोखेका छन् ।


प्रर्दशनीमा हत्यारालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्नुपर्ने माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरिएको थियो । प्रर्दशनकारीहरुले निर्मलालाई न्याय नदिएसम्म सरकार विरुद्धको प्रर्दशन जारी राख्ने चेतावनी समेत दिएका छन् । कोणसभामा बोल्ने महिला अधिकारकर्मीहरुले दिनानुदिन समाज असुरक्षित बन्दै गैरहेको हुँदा सुरक्षाको प्रत्याभूति दिलाउनका लागि राज्यको ध्यानाकषर्ण पनि गराएका थिए ।


बेनीको शहिदस्तम्भ चोकबाट सुरु भएको महिलाहरुको ¥यालीले सदरमुकाम बेनीबजारको परिक्रमा गरी आवारोडमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै म्याग्दीको बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले पछिल्लो समय देशमा महिला हिंसाका घटना बढेको हुँदा घटनामा संलग्न दोषीलाई कडा कार्वाही गर्नुपर्ने बताउनुभयो । उहाँले निर्मला पन्तका दोषीलाई कार्वाही गरी पीडित परिवारलाई न्याय दिलाउन माग गर्नुभयो ।