निर्मलाको हत्यारा सार्वजनिकको माग गर्दै कञ्चनपुरमा नेविसंघको बन्द

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
नेपाली काँग्रेसको बिद्यार्थी संगठन नेपाल विद्यार्थी संघको पुर्वघोषित कार्यक्रम अनुसार शनिवार कञ्चनपुर बन्द गरिएको छ । भीमदत्त नगरपालिका २ कि निर्मला पन्तको बलात्कारपछि भएको हत्याको सत्य, तथ्य सार्वजनिकको माग गर्दै नेबि संघले घोषणा गरेको बिरोध कार्यक्रम अनुसार शनिवार कञ्चनपुरमा प्रदर्शन सहित बन्द भएको हो ।

नेपाल बिद्यार्थी संघले बिहिबारदेखि ३ दिने दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको थियो । नेपाली कांग्रेसको बिद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थी र सयौं स्थानीय बासिन्दा निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गदै प्रदर्शनमा उत्रिएका छन् । महेन्द्रनगर बजार तथा कञ्चनपुरका प्रमुख सहरहरु झलारी, गुलरिया तथा बाँणी बंकका बिभिन्न चौकमा टायर बाल्दै नारावाजी गर्दै कञ्चनपुर बन्द गरेका छन् ।

निर्मलाको बलात्कार पछि हत्या भएको झण्डै दुइ महिना पुग्नै लाग्दा समेत न्याय दिलाउनका लागि सरकारले देखाएको लाचारपन तथा ढिलासुस्तीको बिरुद्धमा महेन्द्रनगर बजारका बिभिन्न चोकमा टायर बालिएका हुन । सडक बीचमै बसेर प्रदर्शन हुन थालेपछि यातायातका साधन सञ्चालनमा समेत अवरोध सृजना भएको छ । बजार क्षेत्रमा प्रदर्शन हुन थालेपछि महेन्द्रनगर बजार क्षेत्रका पसल पुर्ण रूपमा बन्द भएका छन् । सरकारलाई हत्यारा पत्ता लगाउन दबाब दिनका लागि प्रदर्शन गरिएको नेविसंघका विद्यार्थी नेता किशोर जोशीले बताए । घटना भएको झण्डै दुई महिना भइसक्दा पनि दोषीको पहिचान गर्न नसकेको प्रहरी प्रशासन र सरकारलाई खबरदारि गर्न प्रदर्शन भइरहेको उनले बताए ।


यसअघि बिहिबार महिलाहरूले हत्यारा पत्ता लगाउन माग गर्दै रित्तो थाली बजाउँदै बजारमा प्रदर्शन गरेका थिए। हत्यारा खोजी गरिनुपर्ने भन्दै तीजका दिन महिलाहरूले कालो सारी लगाएर भीमदत्त बजार क्षेत्रको मदन चोकमा कालो तिज मनाएका थिए ।

कंञ्चपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्यामा प्रसाशनले अलमल गरिरहेको आशंकामा शनिवार देशका अधिकांश ठाउँमा ‘निर्मलाका निम्ति न्याय’ अभियानले जनता भेला एवं प्रदर्शन भइरहेको छ। देशका बिभिन्न स्थानहरुमा काठमाडौंको माईतिघर मण्डल, झापाको अर्जुनधारा , काकरभिट्टामा हनुमान मन्दिर र दमकको दमक चोक, बिराटनगरको ट्राफिकचोक र बिराटचोक, धरानको भानुचोक, ईटहरीको रेयुकाई चोक, ईनरुवाको लोकतान्तरिक चोक, राजविराजको भगवती मन्दिर,काभ्रे पाँचखालको समाजकल्याण चोक, नेपालगंज, पोखराको मानवधिकार चोक, भरतपुरको चौबिसकोठी, मेलम्चीको हेलम्बु बसपार्क, गाइघाटको पिपलचोक आदी रहेका छन्। घटना भएको झण्डै दुई महिना भइसक्दा पनि दोषीको पहिचान गर्न नसकेको प्रहरी प्रशासन र सरकारलाई खबरदारि गर्न उक्त प्रदर्शन हुन लागेको हो।

समाजिक संजाल प्रयोगकर्ता र न्यायप्रेमीहरुको अग्रसरतामा हुने उक्त प्रदर्शन शनिवार दिउँसो १ बजे हुनेछ। निर्मला पन्तका आमा(बाबु न्यायको खोजीमा देशको राजधानी जानु परेको अवस्थामा न्याय दिन सरकार किन हिच्किचाईरहेको छ भन्ने प्रश्न जनमानसले गर्न थालेका छन् ।